ad ad

खेल


आजदेखि नेपाल टी२० लिग सुरु हुँदै

आजदेखि नेपाल टी२० लिग सुरु हुँदै

नेपालखबर
पुस ९, २०७९ शनिबार ७:४१, काठमाडौँ

पटक–पटक स्थगित हुँदै आएको नेपाल टी–२० लिग शनिबारदेखि सुरु हुँदै छ।  

यसअघि शुक्रबारदेखि सुरु हुने भनिएको लिग नेपाल क्रिकेट संघ (क्यान) ले प्राविधिक कारण देखाउँदै शनिबारदेखि सुरु गर्न लागेको हो। 
विदेशी खेलाडीको श्रम स्वीकृति लगायतका कारण लिग यसअघि तय भएको समयमा सुरु हुन नसकेको हो। यसअघि असोज ८ देखि गर्ने लिग गर्ने भनिए पनि मिति सारिएको थियो। 

दोस्रो पटक मंसिर २६ देखि पुस १६ सम्म हुने बताइए पनि फेरि मिति सारिएको थियो। त्यसपछि लिग पुस ८ देखि २६ सम्म हुने जानकारी गराइएको थियो। तर प्राविधिक कारण देखाउँदै लिग पुनः एक दिन पछि सारिएको हो। 

खेलाडीको श्रम स्वीकृतिको काम सकेर शनिबार नै विदेशी खेलाडीहरु मैदान उत्रिने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले दाबी गरेका छन्। शुक्रबार एक दिनमा खेलाडीको श्रम स्वीकृतिको कागजी प्रक्रिया पूरा नभए आज सबै नेपाली खेलाडी नै खेल्नेछन्। 

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले ८ वर्षको लागि लिग गर्न सम्झौता गरे पनि नेपालको कानुनी प्रक्रियाका कारण फास्ट ट्रयाकमा काम गर्न नसकेको सुनाए। 

टी–२० लिग आयोजना गर्न नदिनका लागि नेपालको क्रिकेट विकास चाहन्छु भन्ने केही साथीहरुले विदेशमा पत्र लेखिएको समेत भेटिएको चन्दले बताए। 

क्यानले फ्रेन्चाइज लिग आफैंले आयोजना गर्ने भनेर नेपाल टी–२० लिग घोषणा गरेपछि नेपालमा यसअघि हुँदै आएका तीन फ्रेन्चाइज लिग रोकिएका छन्। 

क्यानले नेपालमा अन्य लिग हुन नदिने भनेपछि एभरेष्ट प्रिमियर लिगका आयोजक आमिर अख्तरले अदालतमा मुद्दा हालेका छन्। जुन मुद्दा अझै अदालतमा नै छ। 

पहिलो पटक लिग आयोजना गर्दा केही समस्याहरु रहेको स्वीकार गर्दै अध्यक्ष चन्दले आफूले सही नियतले लिग आयोजना गर्ने भनेकाले सफल हुने दाबी गरे। 

लिगमा ६ फ्रेन्चाइज टोलीले डबल राउन्ड रोविनका आधारमा स्पर्धा गर्नेछन्। लिगमा पोखरा एभेन्जर्स, काठमाडौं नाइट्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन्। 

लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुनेले १० तथा चौथो हुनेले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याटरले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। उदीयमान खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउनेछ। 

हरेक खेलको प्लेयर अफ दि म्याचले ४० हजार रुपैयाँ पाउनेछन्। 

शनिबार हुने लिगको पहिलो खेलमा बिहान सवा नौ बजे काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ। त्यस्तै दिउँसो सवा १ बजे लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .