लियोनल मेस्सी ३२ वर्षका भए। तर उनको देब्रो खुट्टामा अझै धेरै प्रतिभाहरु बाँकी छन्। यद्यपी उनले अब धेरै समय आफ्नो खेललाई स्थिर राख्न सक्ने छैनन्। उमेर बढेसँगै प्रदर्शन खस्कदै जान्छ। उनले पनि खेलबाट सन्यास लिनुपर्छ।
मेस्सीले सन्यास लिने दिनहरु नजिकिँदै गर्दा उनले अझै कैयौं चुनौतीको सामना गर्नुपर्ने तालिका छ। जुन चुनौती उनले पार गर्न सकेका छैनन्। दर्जनौं उपाधि पाएका, व्यक्तिगत अवार्ड जितेका तथा किर्तिमानी रचेका मेस्सीका चुनौतीहरुका बारेमा स्पेनिस राष्ट्रिय खेल पत्रिका मार्काले लेखेको छ।
मार्काले मेस्सीका चुनौतीको तालिका नै बनाएको छ।
चुनौती १ः अर्जेन्टिनाका लागि केही जित्ने
देशका लागि मेस्सीले सन् २००८ मा ओलम्पिकको स्वर्ण पदक जितेका छन् भने फिफा अन्डर २० विश्वकप जितेका छन्। तर यो उनको अन्तर्राष्ट्रिय छविका लागि पर्याप्त छैन। मेस्सीले अर्जेन्टिनालाई विश्वकप फुटबल जिताउन सकेका छैनन्। कोपा अमेरिका जिताउन सकेका छैनन्। यद्यपी उनले अर्जेन्टिनालाई सन् २०१४ को विश्वकप फाइनलमा पुर्याएका थिए।
३ पटक कोपा अमेरिकाको फाइनलमा पुर्याएका थिए। तर उपाधि भने दिलाउन सकेका थिएनन्। इतिहास त्यसको लेखिन्छ जसले उपाधि उचाल्छ। अहिलेसम्म मेस्सी उपविजेतामा सिमित बनेका छन्। यद्यपी यसपटकको कोपा अमेरिकाको क्वाटर फाइनलमा उनको टोली पुगिसकेको छ। यस पटक उनले कोपा अमेरिका जितेर देशका लागि केही जित्न सक्छन्।
चुनौती २ः मेस्सी–रोनाल्डोको विवाद टुंग्याउने
एक दशकयता विश्व फुटबलमा मेस्सी र क्रिस्टियानो रोनाल्डोले एकछत्र राज गरिरहेका छन्। दुवै खेलाडी आफ्नो प्रदर्शनमा कमी ल्याउने पक्षमा छैनन्।
दशकयता दुवै खेलाडीमध्ये को उत्कृष्ट भन्ने विवाद चलिरहेको छ। रोकिएको छैन। मेस्सीले छैठौं बालुन डि’ ओर अवार्ड जितेर यो विवादलाई टुंग्याउन सक्छन्। मेस्सी र रोनाल्डो पाँच–पाँच पटकका बालुन डि’ओर विजेता हुन्।

चुनौती ३ः फेरि च्याम्पियन्स लिग जित्ने
मेस्सीले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितेका छन्। उनी अहिले बार्सिलोनाका कप्तान हुन्। उनीमाथि टिमले ठूलो विश्वास राखेको छ।
सन् २०१५ पछि बार्साले च्याम्पियन्स लिग जित्न सकेको छैन। क्रिस्टियानो रोनाल्डोले ५ पटक च्याम्पियन्स लिग जितेका छन्। त्यस कारण रोनाल्डोसँग बराबरी गर्न अथवा उनलाई यस प्रतिस्पर्धामा जित्न मेस्सीले च्याम्पियन्स लिग जित्नैपर्छ।
चुनौती ४ः च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बन्ने
युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन्। उनले १ सय २६ गोल गरेका छन्। मेस्सी रोनाल्डोभन्दा धेरैपछि छैनन्। मेस्सीले च्याम्पियन्स लिगमा ११२ गोल गरेका छन्। मेस्सी रोनाल्डोभन्दा कान्छा पनि हुन्। त्यसैले मेस्सीले यो चुनौतीलाई पार गर्ने देखिन्छ।

चुनौती ५ः फेरि ६ वटा उपाधि जित्ने
मेस्सीले पेप ग्वार्डिओलको प्रशिक्षणमा बार्साबाट एकै सिजन ६ वटा उपाधि हात पारेका थिए। उनले फेरि ६ वटा उपाधि एकै सिजन जिते उनको सपना पुरा हुनेछ।
चुनौती ६ः नयाँ क्याम्प नाउँमा गोल गर्ने
बार्सिलोनाले पुननिर्माण गर्ने भनिएको नयाँ स्टेडियम क्याम्प नाउँ सन् २०२३ सम्ममा बन्ने अनुमान छ। त्यसबेला मेस्सी ३६ वर्षको हुनेछन्। त्यस उमेरमा मेस्सीेले बार्साको तर्फबाट गोल गरे त्यो क्षण अविस्मरणीय रहनेछ।
Shares

प्रतिक्रिया