समाज


प्रधानमन्त्रीको गृह जिल्लामा भेटियो आरसीआईडी बम

प्रधानमन्त्रीको गृह जिल्लामा भेटियो आरसीआईडी बम

दीपक खरेल
असार १०, २०७६ मंगलबार ७:५२,

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ताको गैर न्यायिक हत्याको बिरोधमा मंगलबार आयोजना गरेको नेपाल बन्दका क्रममा देशभरका ३६ जिल्लामा ४६ घटना भएका छन्।

प्रहरीले विभिन्न जिल्लाबाट नेकपाका ७ जना जिल्ला तहका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ।

बन्दकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा आरसीआईडी बम फेला परेको छ। सुरक्षा अधिकारीहरुका अनुसार रिमोट कन्ट्रोल इन्टरसेप्टिङ डिभाईस (आरसीआईडी) बम विस्फोट अगावै प्रहरीले बरामद गरेको हो। चाहेको समयमा रिमोटको सहयोगमा बिस्फोट गराउन सकिने यसप्रकारको बम नेकपाबाट पहिलो पटक बरामद भएको हो।

मान्छेले रिमोटबाट सञ्चालन गर्ने यसप्रकारका डिभाईसमा बम राखेर बिस्फोट गराईन्छ। सेना र प्रहरीको इन्टिलिजेन्स टोलीले घटनाको अनुसन्धान थालेको छ।

बन्दका क्रममा झापामै एक होक्स बम र एक स्थानमा शंकास्पद वस्तुसमेत फेला परेको प्रहरीले जनाएको छ। यस्तै झापामै फेला परेको एउटा प्रेसर कुकुर बम सेनाको टोलीले डिस्पोज गरेको छ।

यस्तै कैलालीमा बेवारिसे राखिएको टाईम बम फेला परेको छ। सुरक्षा निकायले सेनाको सहयोगमा बम डिस्पोज गरेका छन्।

प्रहरीका अनुसार काठमाडौंको कीर्तिपुरका त्रास फैलाउन होक्स बम (बम आकारको वस्तु) राखेका छन्। यस्तै काठमाडौँकै अर्को एक स्थानमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

बनदको दिन एकाबिहानै काठमाडौंबाट शंकास्पद अवस्थामा भेटिएका ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले शंकास्पद वस्तु राख्नमा विप्लव समूहलाई सघाएको आरोप छ। यस्तै ललितपुरको जावलाखेलमा राखिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ। भक्तपुरमा समेत होक्सबम राखेर त्रास फैलाईएको छ।

प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार अछामका दुई र डोटीका एक स्थानीय निकायका कार्यलयमा तोडफोड भएको छ। अर्घाखाचीका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ। उदयपुरमा एउटा सुतली बम बिस्फोटको प्रयास भएको छ। कपिलवस्तु, चितवन र काभ्रेमा एक–एक वटा शंकास्पद वस्तु फेला परेको छ।

विप्लव बन्दको प्रभाव कास्कीमा बढी देखिएको छ। कास्कीका ३ स्थानमा शंकास्पद वस्तु, दुई स्थानमा होक्स बम र एउटा शंकास्पद वस्तु फेला परेको छ। कास्की प्रहरीले विप्लवका लमजुङ जिल्ला सेक्रेटरीलाई पोखराबाट पक्राउ गरेको छ।

बन्दकै क्रममा जाजरकोटका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ। धादिङमा एउटा सकेट बम फेला परेको छ। प्रहरीले बन्दकै क्रममा रुकुम पश्चिमबाट विप्लवका चारजना जिल्ला तहका नेता नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मंगलबार बिहानैदेखि अपरान्हसम्म ९ वटा होक्स बम, २० वटा शंकास्पद वस्तु, ३ वटा ग्यास सिलिन्डर बम, २ वटा सकेट बम, एउटा सुतली बम, ४ वटा प्रेसर कुकुर बम, एउटा आगजनीको घटना, ४ स्थानमा तोडफोड भएको छ। घटनामा संलग्न ७ जना पक्राउ परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .