खेल


कारबाहीमा परेका चार खेलाडीद्वारा एन्फाकाे अपिल कमिटीमा निवेदन

कारबाहीमा परेका चार खेलाडीद्वारा एन्फाकाे अपिल कमिटीमा निवेदन

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार १३:३२,

अनुशासन उल्लंघन गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका विमल घर्तीमगरसहितका ४ खेलाडीले कारबाही घटाउन माग गर्दै एन्फाको अपिल कमिटीमा निवेदन दिएका छन्।

एन्फाले शुक्रबार विमल र दीनेश राजवंशीलाई ९० दिन तथा अन्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिनको निलम्बनको कारबाही गरेको थियो। शुक्रबारदेखि नै कारबाही लागु हुने एन्फाको विज्ञप्तिमा उल्लेख छ। सबै जनालाई ५० हजार जरिवाना पनि तोकिएको थियो।

चारै जनाले आफूहरुले गल्ति गरेको र त्यसको सजाय पनि भोगेको उल्लेख गर्दै सोमबार निवेदन दिएको एन्फा श्रोतले जनाएको छ। ‘अब यस्तो गल्ति दोहोराउँदैनौं। त्यसका लागि कारबाही घटाउँदै लिग खेल्न पाउँ भन्ने आशय छ,’ श्रोतले भन्यो, ‘अब यो विषयमा अपिल कमिटीमा छलफल हुनेछ।’

कुवेतसँगको विश्वकप छनोट खेल्नका लागि भुटान जानुअघि अघिल्लो राति डिस्को गएर मादक पदार्थ सेवन गरेको समाचार सार्वजनिक भएपछि एन्फाले गत कार्तिक ३० गते ४ खेलाडीलाई कारबाही गरेको थियो। भुटानका लागि ४ खेलाडी एन्फा पुगेपनि कारबाही सुनेपछि उनीहरु घर फर्केका थिए।

त्यसको निरन्तरताका रुपमा एन्फाले थप कारबाही गरको हो। एन्फाको कारबाही यथावत रहेमा अन्जन र सन्तोषले कतार ऐयरवेज सहिद स्मारक ए डिभिजन लिगको सुरुवाती डेढ महिनाको खेल गुमाउनेछन्। अन्जन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दीका मुख्य खेलाडी हुन्। त्यस्तै सन्तोषले आर्मीको मिडफिल्ड सम्हाल्दै आएका छन्। दुबै खेलाडीले लिगको अन्तिम ४ खेल मात्र खेल्न पाउनेछन्।

दीनेशले भने अझै ३ महिना लिगको खेल गुमाउनेछन्। त्यसको अर्थ उनले लिगका सबै खेल गुमाउनेछन्। उनी यहि सिजन रुस्लान थ्री स्टार क्लब छोडेर च्यासल युथ क्लबसँग अनुबन्धन गरेका थिए। उनले यसै महिना सम्पन्न चन्द्रागिरी गोल्डकप पनि खेलेका थिए।

विमलको हकमा भने उनी माल्दिभ्सको लिग खेलिरहेका कारण एन्फा अन्तर्गत प्रतियोगितामा मात्र कारबाही हुनेछ। यसबीचमा राष्ट्रिय टोली अथवा अन्य कुनै प्रतियोगिता भएको खण्डमा विमल सहभागी हुने छैनन्। विमलले पछिल्लो समय माल्दिभ्सको शीर्ष डिभिजनको क्लब टीसी स्पोट्र्सबाट खेल्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad