नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वर्ल्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन्।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मंसिर २८ देखि शुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको जानकारी दिए प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मंसिर २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेकामा विभागले तिनलाई राष्ट्रिय खेलकूद परिषद्को अनुमतिपत्र नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो।
प्रतियोगितामा भाग लिन प्रशिक्षक गणेशबहादुर कुँवर तथा खेलाडी ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मानजीत लामा त्यसतर्फ जाने कार्यक्रम थियो। प्रतियोगितामा विश्वभरिका ११६ भन्दा बढी देशबाट खेलाडीको सहभागिता छ।
नेपाली खेलाडी छनोट हुँदा पनि कजाकस्तान जान पाएनन्। खेलाडी तथा प्रशिक्षकलाई च्याम्पियनशिपले स्पोन्सर गरे तापनि विभागले विनाकारण रोक लगाएको भनी प्रशिक्षक कुँवरले गुनासो पोखे। प्रतियोगितामा भाग लिनबाट वञ्चित खेलाडी राईले आफूहरुसँग सबै आवश्यक कागजात हुँदा पनि प्रतियोगितामा सहभागी हुनबाट रोकिएको जिकिर गरे।

प्रतिक्रिया