खेल


सागमा नेपालका ७ कीर्तिमान

सागमा नेपालका  ७ कीर्तिमान

नेपालखबर
मंसिर २१, २०७६ शनिबार ७:८,

१३  औँ सागमा नेपाली खेलाडीहरुले  २६ खेलमै सहभागिता जनाउँदै विभिन्न कीर्तिमानहरु राखेका छन्। ती मध्ये केही यस्ता छन्।

 १, सर्वाधिक स्वर्ण

नेपालले सागमा  सर्वाधिक स्वर्ण जित्ने इतिहास यसै संस्करणमा कायम गर्यो। यसअघि नेपालले सन १९९९ को आठौं सागमा ३१ स्वर्ण जितेको थियो। त्यसपछिका सागका ४ संस्करण सम्पन्न भए पनि नेपालको प्रदर्शन भने खस्कँदो थियो। तर, यसपटक भने शनिबार बिहानसम्म नेपालले ४२ स्वर्ण जितिसकेको छ।

यसमा सबैभन्दा ठूलो योगदान तेक्वान्दो र करातेको रह्यो। करातेले कूल १९ इभेन्ट्स मध्ये १० वटामा स्वर्ण पदक जित्यो।

तेक्वान्दोमा २९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा १२ स्वर्ण हात लागे। त्यसबाहेक साइक्लिङका ६ इभेन्ट्समध्ये चार स्वर्ण पदक आएको छ। यस्तै नेपालले उसुमा पाँच, एथ्लेटिक्समा तीन, ट्रायथलन, गल्फ, पौडी र भारोत्तोलनमा समान दुई स्वर्ण जितेको छ।

२, सावित्रा सर्वाधिक गोलकर्ता

साग अन्तर्गतको महिला फुटबलमा माल्दिभ्सविरुद्धको खेलमा गोल गर्दै सावित्रा भण्डारी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनिन्। यसअघि अनुलामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गर्दै सावित्रा सर्वाधिक स्कोरर बनेकी हुन्। उनले १३  औँ सागमा ३८ गाेल गर्दै नयाँ  कीर्तिमान कायम गरेकी हुन्।

३,  स्वर्ण जित्ने पहिलो महिला एथ्लेट्स सन्तोषी

धाविका सन्तोषी श्रेष्ठ नेपालका लागि एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो महिला धाविका बनिन्। उनले साग अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितिन्।

सन्तोषीले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन्। उनले भारतीय खेलाडीलाई १० मिलिसेकेन्डले पछि पार्दै स्वर्ण जितेकी थिइन्।

Image result for anjali chand

४, अञ्जली चन्दको विश्व कीर्तिमान

महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य अञ्जली चन्दले टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान राखिन्। सागको महिला क्रिकेटमा अञ्जलीले माल्दिभ्सविरुद्ध २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन्। यो विश्व टी–२० महिला क्रिकेटमा हालसम्मकै सर्वोत्कृष्ट प्रदर्शन हो।

यसअघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडनसहित ३ रन खर्चेर ६ विकेट लिएकी थिइन्। माल्दिभ्सले दिएको १७ रनको सामान्य लक्ष्य नेपालले पाँच बलमै पूरा गरेको थियो। जुन नेपालले हात पारेको सर्वाधिक छिटो जित पनि हो। विश्वमा भने यो तेस्रो सर्वाधिक छिटो हो।

५, पुरुष क्रिकेटमा फराकिलो जित

पुरुष क्रिकेटमा नेपालले भुटानविरुद्ध १ सय ४१ रनको फराकिलो जित हात पार्दै हालसम्मकै टी–२० अन्तर्राष्ट्रियमा ठूलो जित हात पार्यो।

भुटानविरुद्ध बनाएको २ सय ३६ रन समेत नेपालले यस फम्र्याटमा बनाएको सबैभन्दा ठूलो स्कोर हो। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले पहिलो विकेटका लागि १ सय ८ रनको शतकीय साझेदारी गर्दै नेपालका लागि टी–२०  अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारी गरेका थिए।

६, गौरिकाले दिएको पहिलो स्वर्ण
पौडीको व्यक्तिगत इभेन्टमा गौरिका सिंहले देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण दिलाइन्।

उनले बिहीबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन्। यसअघि नेपालले टिम इभेन्टमा मात्र स्वर्ण जितेको छ। आठौँ सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा नेपालका लागि पहिलो स्वर्ण जितेका थिए।

यस्तै शुक्रबार समेत २०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले अर्को स्वर्ण जितिन। उनले २ मिनेट १७.७३ सेकेन्डमा उक्त दूरी पार गरिन्। भारतकी मान्ना राजिव पटेललाई झण्डै ३ सेकेन्डले पछि पार्दै गौरिकाले स्वर्ण जितेकी हन्l

६, भारात्तोलनमा पहिलो महिला स्वर्ण विजेता सञ्जु चौधरी

महिलातर्फ नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण जित्ने कीर्तिमान भारोत्तोलनकी सञ्जु चौधरीले रचिन्। महिला ५९ केजी तौल समूहमा सञ्जु श्रीलङ्काले खेलाडीलाई पछि पार्दै स्वर्ण जितिन।

सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा कूलतर्फ)सहित स्वर्ण जितेकी हुन्। यसअघि दशौँ संस्करणमा कमलबहादुर अधिकारीले जितेको स्वर्ण सागमा नेपालले भारात्तोलनमा जितेको एकमात्रै स्वर्ण थियो।

Image result for nima gharti nepalkhabar

 ७, निमा घर्ती  मगरका नाममा लगातार दुई स्वर्णको इतिहास

उसुमा लगातार सागमा दुई स्वर्ण जित्ने पहिलो महिला खेलाडीको इतिहास निमा घर्तीमगरले रचिन्। लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा उसुअन्तर्गतको थाउलोको महिला नान्दोमा कूल १८.९१ अङ्क जोड्दै निमाले यसपटक स्वर्ण जितेकी थिइन्। यसअघि सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा पनि निमाले स्वर्ण जितेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad