ad ad

खेल


साफ यू–२० फुटबल : उपाधि होडमा नेपाल बलियो दाबेदार

साफ यू–२० फुटबल : उपाधि होडमा नेपाल बलियो दाबेदार

लक्ष्मी जि.सी
साउन १२, २०७९ बिहिबार १८:८, काठमाडौँ

भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपाली युवा टोलीले लगातार दुई खेल जितेको छ। 

सुरुवाती दुई खेल आफ्नो पक्षमा पार्दै नेपालले उपाधिमा दाबेदारी प्रस्तुत गरेको छ। सिनियर टोलीमा समेत रहेका आयुष घलानको नेतृत्वमा युवा टोलीले दुई खेलमा सुखद नतिजा निकाल्दा ७ गोल गरिसकेको छ। 

घरेलु फुटबलमा स्थापित प्रशिक्षक मेघराज केसीको कमान्डमा रहेको टोलीमा उनका सहायक बालगोपाल साहुखल छन्। 

लगातार दोस्रो जितले खेलाडीमा आत्मविश्वास बढेको बताउँछन् सहायक प्रशिक्षक साहुखल। त्यसैले राउन्ड रोविन लिगका बाँकी दुई खेलका लागि टोली उत्साहित रहेको उनले बताए। उमेर समूहमा नेपाली टोलीले एकपछि अर्को सफलता पाइरहेको छ।

दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल पछिल्लो दुई संस्करण (१२ औँ र १३ औँ) को विजेता हो। यसअघि यू–१९ का रुपमा हुने जारी साफ यू–२० च्याम्पियनसिपमा पनि नेपालको प्रदर्शन उत्कृष्ट छ। स्वदेशमा सन् २०१५ मा भएको साफ यू–१९ विजेता नेपालले २०१७ मा पनि त्यसलाई निरन्तरता दियो। पछिल्लो संस्करण भने भारतले जित्यो। 

यसपटक नेपालसहित आयोजक भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल जस्तै यो संस्करणमा बंगलादेशले दाबेदारका रुपमा आफूलाई उभ्याएको छ।

लगातार दुई खेल जितेको बंगलादेश नेपालका लागि चुनौती बन्न सक्छ। माल्दिभ्सलाई ४–० ले हराउँदै च्याम्पियनसिपको यात्रा थालेको

नेपालले बुधबार दोस्रो खेलमा श्रीलङ्कामाथि ३–० को जित निकाल्यो। स्कोर हेर्दा बंगलादेशको भन्दा नेपालले सजिलै जितेको छ। बंगलादेशले श्रीलंकालाई १–०  र भारतलाई २–१ ले हराएको थियो। 

च्याम्पियनसिपका चार खेल सकिँदा क्लिन सिट राख्न सफल नेपाल एक्लो टोली हो। साउन १५ गते नेपालले भारतको सामना गर्दैछ। नेपालको वास्तविक परीक्षा त्यसमै हुने अनुमान गरिएको छ। 

साविक विजेता भारतका लागि त्यो खेल उत्तिकै महत्वपूर्ण छ। पहिलो खेल गुमाइसकेले भारतीय युवा टोली दबाबमा हुनेछ। नेपालले भारतलाई बराबरीमा रोके पनि उपाधि भिडन्त पक्का गर्न सक्नेछ।

राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। अन्तिम दुईमा पुग्न भारतले नेपालविरुद्ध सबै शक्ति लगाउनेछ। नेपालसामु विजय यात्रालाई निरन्तरता दिने चुनौती छ। 

त्यस खेलमा नेपालसँग पराजित भए भारत च्याम्पियनसिपबाट बाहिरिन सक्नेछ। अहिलेसम्म भारत, माल्दिभ्स र श्रीलंका जितबिहीन र अंकबिहीन छन्। 

नेपालले राउन्ड रोविन लिगको अन्तिम खेल बंगलादेशको सामना गर्नेछ। त्यसअघि बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ। 

एकअर्काविरुद्ध उत्रनुअघि नै नेपाल र बंगलादेश फाइनल पुग्ने सम्भावना पनि छ। बंगलादेश पछिल्ला दुई संस्करण सन् २०१७ र २०१९ को उपविजेता हो। 

यसपटक पनि बंगलादेशी टोली बलियो देखिएको छ। २ खेलपछि समान ६ अंकसहित नेपाल शीर्ष र बंगलादेश दोस्रो स्थानमा छन्। राम्रो गोलअन्तरमा नेपाल शीर्ष स्थानमा छ। बाँकी ३ टोली अंकबिहीन छन्। उनीहरुका लागि अबका खेलमा ‘गर वा मर’को विकल्प छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .