ad ad

खेल


नेपाली क्रिकेट मैदानमा जब गुटको खेल सुरु भयो...

गुटका कारण यसरी कमजोर बन्दैछ नेपाली क्रिकेट
नेपाली क्रिकेट मैदानमा जब गुटको खेल सुरु भयो...

फाइल तस्बिर


लक्ष्मी जि.सी
साउन १०, २०७९ मंगलबार ८:८, काठमाडौँ

कुनै पनि समूहगत खेलमा सबै खेलाडीको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।

स्वाभाविकरुपमा जित वा हारको अपजस त्यो पनि सामूहिक नै हुन्छ। जितले खुसी दिन्छ र त्यसमा आलोचना गर्ने धेरै ठाउँ पनि कम हुन्छ। जितले कमजोरी पनि छोपिदिन्छ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का भन्ने गर्थे, ‘हारले धेरै प्रश्न जमिन्छ। जितमा धेरै प्रश्न हुँदैनन्।’

क्रिकेट टोलीको पछिल्लो समयको लगातारको असफलताले धेरै प्रश्न जन्मिएको छ। पछिल्ला खेलमा नेपालको ब्याटिङ कमजोर भएकाले निरन्तर टोलीले असफलताको सामना गरिरहेको देख्न सकिन्छ। तर, कमजोर प्रदर्शन हुनुको कारण यही हो भन्ने जवाफ कसैसँग छैन। 

असफलताको कारण कतिपयले क्रिकेट टोली भित्र मौलाउँदै गएको गुटलाई मानेका छन्। खेलाडीका गुटका बारेमा टोलीका कप्तान सन्दीप लामिछानेले पटकपटक जवाफ दिनुपरेको छ। उनले सार्वजनिक रुपमा समूहमा गुट रहेको भन्ने प्रश्नलाई अस्वीकार गर्दै आएका छन्। यद्यपि उनले बेलाबखत सामाजिक सञ्जालमार्फत दिने विचारले टोलीमा गुट रहेको आशंकालाई जर्बजस्त बल मिलेको छ। 

टोलीको लगातारको कमजोर प्रदर्शनपछि राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन्। जाँदा जाँदै उनले आफू आउनुअघि टोलीमा गुटबन्दी रहेको र त्यसलाई कम गराउन प्रयास गरेको क्रिकइन्फोसँगको अन्तवार्तामा बताएका थिए। पछिल्लो १२ एक दिवसीय खेलमा ३ खेलमा जित एक खेलमा टाइ भएको थियो भने बाँकी सबै खेलमा नेपाल पराजित भएको थियो। असफलतापछि प्रशिक्षक,कप्तानसँगै पूरै टोलीको आलोचना हुनु स्वाभाविक हो। दोस्रोपटक पुबुदुको नेतृत्वमा १४ एक दिवसीय खेल्दा मात्र ४ वटा खेल जित्यो।  

विश्व कप लिग २ को खराब प्रदर्शनले नेपाली क्रिकेटको भविष्य नै संकटमा पर्ने संकेत गरेको छ। अर्को वर्ष हुने विश्वकप ग्लोबल छनोटका लागि लिग २ को शीर्ष ३ मा पर्नुपर्नेछ। त्यो यात्रा नेपालका लागि निकै कठिन भइसकेको छ। शीर्ष ५ भित्र पर्न नसकेको खण्डमा एक दिवसीय मान्यता पनि गुम्नेछ। देशको क्रिकेटको भविष्यसँग जोडिएको लिग २ मा नेपालको यति कमजोर प्रदर्शन समर्थकको अपेक्षाभन्दा फरक नतिजा हो। लिग २ मा ३६ खेलमध्ये नेपालले २० खेल खेलिसकेको छ।

समूहगत खेलमा एकले अर्कालाई साथ नदिने हो भने जित्ने सम्भावना भएको खेल पनि हारिन्छ। समन्वय मिलेको खण्डमा हारको नजिक पुगेको खेलमा पनि नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ।

विगतमा नेपालले पटक पटक त्यस्ता सफलताको इतिहास रचेको छ। तर अहिले एक दिवसीय क्रिकेटमा नेपालले एक पछि अर्को हारको सामना गर्नुपरिहेको छ। हुन पनि टोलीले एक दिवसीय खेलमा १२८ देखि १९९ सम्मको सामान्य लक्ष्य पनि भेट्टाउन सकेको छैन।

यो पक्कै सुखद होइन। खेलाडीहरुमा विभिन्न गुट छ भन्ने कुरा औपचारिकरुपमा कसैले स्वीकार गरेका छैनन्। तर, उनीहरु नै अनौपचारिक कुराकानीमा भने खेलाडीको गुटबन्दी अस्वीकार गर्दैनन्। गुटबन्दी कसका कारण भइरहेको छ भन्नेबारे स्पष्टरुपमा बोल्न कोही तयार छैनन्।

पहिलोपटक टोली सम्हाल्दा खेलाडीमा गुटबन्दी नरहेको पुबुदुले नै बताएका छन्। पछिल्लो समय भने गुटबन्दीका लागि आफूले प्रयास गरेको पनि उनले क्रिकइन्फोसँगको कुराकानीमा बताएका छन्। जाँदाजाँदै उनले नेपाली टोलीको पछिल्लो अवस्था र आफ्नो प्रयासबारे बोल्नुले पनि गुटबन्दीलाई पूर्णरुपमा अस्वीकार गर्ने अवस्था छैन। त्यसको समाधानका लागि कसरी, कहाँबाट सुरुवात गर्ने वा पहल गर्ने भन्ने विषयमा कसैले औपचारिक अग्रसरता लिन पनि सहज देखिँदैन। 

मौलाउँदो गुट
गत वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले ग्रेडिङलगायत विषयमा सञ्चारमाध्यममा बोलेपछि खेलाडीसँग स्पष्टीकरण सोधेको थियो। जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए। त्यही विवाद बढ्दै जाँदा तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उप कप्तान दीपेन्द्र सिंह ऐरलाई जिम्मेवारीबाट हटाएको थियो। उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको थियो।

खेलाडी आचारसिंहता उल्लघंन गरेको भन्दै क्यानले गत मंसिर २९ गते खेलाडीलाई कारबाही गर्यो। चार जनाले आफूहरुलाई गरिएको कारबाही फिर्ता लिन आग्रह पनि गरे। दुई पक्षबीच लामो समय विवाद चल्यो। कप्तानसहित ४ खेलाडीका पक्षमा विनोद भण्डारी, करण केसी, रोहित पौडेल, कुशल भुर्तेललगायत खेलाडीले सामाजिक सञ्जालमार्फत आवाज उठाएका थिए। 

क्यानले ४ खेलाडीलाई कारबाही गरेपछि साथ दिएका करण, विनोद , कुशल , सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, विक्रम सोब, रोहित र नन्दन यादवको एउटा समुह बनेको चर्चा सुरु भएको थियो। त्यसको असर मैदानमा पनि देखिन थालेको आशंका पनि गरियो।

त्यसअघि पनि नेपाली क्रिकेटमा गुटको चर्चा नचलेको होइन। तर त्यसको असर टोलीको प्रदर्शनमा भने देखिएको थिएन। सन् २०१६ मा पनि पूर्व कप्तान ज्ञानेन्द्र र सिनियर खेलाडीबीच गुट रहेको चर्चा चलेको थियो। मैदानमा भने गुट भएजस्तो केही संकेत देखिएको थिएन। 

सन् २०१८ मा एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणपछि भने खेलाडी एक अर्को समूहमा विभाजन हुन थालेको मान्नेहरुको क्रिकेटमा कमी छैन। त्यही समयमा नै क्यानका सदस्य छुम्बी लामा, पूर्वकप्तान पारस, ज्ञानेन्द्रलगायतसम्मलित कम्पनीले पोखरामा पोखरा प्रिमियर लिग फ्रेन्चाइज क्रिकेट आयोजना गरे। पीपीएल र ईपीएलकै कारण पनि खेलाडीमा गुटबन्दी बढेको बताइन्छ। पीपीएलमा राम्रो गर्ने खेलाडीले ईपीएलमा त्यही प्रदर्शनलाई निरन्तरता दिन नसकेको आरोप पनि लाग्यो। 

नेपालले २०१८ मा एकदिवसीय मान्यता पाउने बेलासम्म गुटको चर्चा हुने गरेको थिएन। टोलीभित्र गुट छ भन्ने चर्चा भने चलिनै रहेको थियो। त्यसपछि स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न गए। उनले दिल्ली क्यापिटल्सबाट आईपीएल खेले। त्यसपछि अन्तराष्ट्रिय क्रिकेटमा छाउन सुरु गरेका सन्दीपले पछाडि फर्कनु परेन।

एकपछि अर्को अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्न थालेपछि सन्दीपमा घमण्ड चुलिएको आरोप पनि लाग्यो। त्यसको असर नेपाली टोलीमा देखिएको मान्नेहरु पनि छन्। त्यहाँबाट सन्दीप र पारसको दुई गुट सुरु भएको मानिन्छ। मैदानमा भने त्यसको प्रभाव देखिएन। आमिर अख्तरको पहलमा हुने ईपीएलले पनि खेलाडीमा गुटबन्दी बढायो। त्यहाँबाट सुरु भएको मानिएको गुटबन्दीको शिकार अहिले राष्ट्रिय टोलीमा पनि पर्न थालेको हो। 

क्यानको कारबाहीले पनि खेलाडीको गुटबन्दीमा मलजल गरेको आरोप लाग्ने गरेको छ। कारबाहीपछि ज्ञानेन्द्र, सोमपाल, दिपेन्द्र र रोहित एक पक्षमा भए। त्यति बेला सन्दीप एक्ला जस्तै थिए। पछि उनलाई आरिफ शेख, आशिफ शेख, पवन सर्राफ लगायतका खेलाडीले साथ दिन थाले। खेलाडीमा रहेको गुटबन्दी नै मैदानमा देखिन थालेको र त्यसकै कारण टोलीले सामूहिक प्रदर्शन गर्न नसकेको आरोप अहिले लाग्न थालेको छ। 

क्यानले सिनियर खेलाडी दिपेन्द्र, सोमपालसहित खेलाडीलाई बेवास्ता गर्दै सन्दीपलाई टोलीको कप्तानी सुम्पिनुले पनि गुटबन्दी मौलाउन पाएको धेरैको अनुमान छ। सन्दीपलाई कप्तान बनाएपछि अर्को पक्ष चिढिएको उनीहरुको बुझाइ छ।  

त्यसो क्रिकेटमा गुट हाबी हुनुको मुख्य कारण क्यानलाई नै मान्न सकिने धेरै आधार छन्। क्यानले सन्दीपलाई कप्तानी दिनु, अनुभवी खेलाडीको आवश्यकता परेको बेलामा सिनियर खेलाडीलाई टोली बाहिर राखेका कारण पनि गुटले प्रश्रय पाएको मान्नेहरु पनि छन्। अहिले एक पक्षका खेलाडी र क्यान दुवै एकअर्कालाई तह लगाउनु पर्छ भनेर लागिपरेका छन्। 

अहिले टोलीमा रहेको गुटबन्दीलाई अन्त्य गर्न अभिभावक संस्था क्यानले पहल नगर्ने हो भने अवस्था थप गम्भीर बन्न सक्छ। त्यसको असर टोलीको प्रदर्शनमा स्वाभाविक रुपमा पर्छ नै। कुनै पनि खेलाडीले हराउनकै लागि पक्कै खेल्दैन। तर, खेलाडी जिम्मेवार भएर प्रस्तुत नहुने र सामूहिक भावनाबाट प्रेरित नहुने हो भने सफलता पनि झनै टाढा पर्नेछ।

सामूहिक प्रदर्शन हुँदा त जितको ग्यारेन्टी हुन्न। तर, सामूहिक भावना र एकले अर्कोलाई सहयोग गरेर खेल्ने जिम्मेवारी खेलाडी नलिने हो भने हारबाट भने कसैले रोक्न सक्दैन। कम्तीमा पछिल्ला श्रृंखलालाई राम्रोसँग विश्लेषण गर्ने हो भने त्यो देखिन्छ।

कतिपय खेलमा नेपाल जितको नजिक पुगेर पराजित भएको छ। गुटबन्दीको अन्त्यबिना राष्ट्रिय टोली बलियो हुन सक्दैन। यसमा सम्बन्धित सबै जिम्मेवार हुन आवश्यक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .