खेल


बदला होस् त यस्तो!

बदला होस् त यस्तो!

यज्ञराज जोशी
मंसिर २०, २०७६ शुक्रबार ८:३१,

अघिल्लो महिना बंगलादेशमा भएको पाँचौ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा कुमुते ६८ केजी तौल समूहतर्फ नेपालकी अनुपमा मगरलाई स्वर्णको दाबेदार मानिएको थियो। सेमिफाइनलमा शानदार प्रदर्शनसँगै उनले फाइनलमा स्थान बनाएकी थिइन्। तर, फाइनलमा अप्रत्यासित रुपमा उनी श्रीलंकाकी कुल्थुंगा विजयनसँग पराजित भइन्। उनले रजतमै चित्त बुझाउनुपर्‍यो।

अनुपमाले त्यही बेला ठानेकी थिइन्, एक महिनापछि नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) यसको बदला लिन्छु। नभन्दै बुधबार तिनै विजयनसँग अनुपमाले सेमिफाइनलमै भिड्नुपर्ने भयो। एक महिनाअघि फाइनलमा हार्दाको पीडा अझै बाँकी थियो। उनीसँग एकातिर बदला लिने र अर्कोतिर स्वर्णका लागि फाइनल पुग्ने अवसर थियो। र, यो अवसरलाई उनले खेर जान दिइनन्।

सम्बन्धित समाचार: थोत्रो म्याटको तयारीले स्वर्ण

‘मैले अघिल्लो महिना हारेको बदला उनीसँग यसपटक लिन्छु भन्ठानेकी थिएँ,’ सेमिफाइनलमा श्रीलंकाका विजयनलाई ७–४ ले पराजित गरेपछि अनुपमाले भनिन्, ‘उसलाई जित्दा मन प्रफुल्ल भयो। फाइनलका लागि आत्मबल झन चुलियो।’

अनुपमाले फाइनलमा झन बलियो प्रतिद्वन्द्वी पाएकी थिइन्, पाकिस्तानकी नर्गिस। नर्गिसले २०१८ मा भएको एसियन गेम्समा कास्य पदक जितेकी थिइन्। संयोग कस्तो भने नर्गिसले त्यसबेला अर्की नेपाली खेलाडी रिता कार्कीलाई पराजित गर्दै कास्य हात पारेकी थिइन्।

तिनै नर्गिसलाई फाइनलमा ६–३ ले हराउँदै अनुपमाले खेल जीवनकै सबैभन्दा ठूलो उपलब्धि हात पारिन्। सेमिफाइनलमा आफूलाई एक महिनाअघि हराएकी प्रतिद्वन्द्वी र फाइनलमा आफ्नै सहकर्मीलाई एसियन गेम्समा हराएकी प्रतिद्वन्द्वीलाई माथ दिएपछि तेक्वान्दोको एरिनामा सबैको मुखबाट निस्किएको एउटै शब्द थियो, ‘बदला होस् त यस्तो।’

सम्बन्धित समाचार: ‘तर म त नेपाली हो, यो मेडल नेपाललाई हो’

‘खेल सोचेभन्दा राम्रो भयो। एसियन गेम्समै कास्यपदक जितेकी प्रतिद्वन्द्वी निकै बलियो थिइन्,’ खेलपछि अनुपमाले भनिन्, ‘सेमिफाइनल र फाइनल दुवै जित्दा साह्रै खुसी लाग्यो।’

anupama2.jpg

माओवादी क्याम्पमा करातेको कखरा
उदयपुर लेखानीकी अनुपमा भर्ख पाँच कक्षा पढ्दै थिइन्। तत्कालीन विद्रोही माओवादीहरु गाउँमा आइरहन्थे, सांस्कृतिक कार्यक्रम गर्थे। १४ वर्षे अनुपमाको बालमस्तिष्कलाई उनीहरुको गीतसंगीतले लोभ्यायो। गाउँकै दाइहरुले पनि माओवादी जनसेनामा जानुपर्छ भनेर उक्साए। अनुपमा भर्ती भइन्।

उमेर कम भएकाले उनले लडाइँ लड्नु परेन। तर, लडाइँका लागि आवश्यक हतियार ओसारपसारको दृश्य अहिलेपनि उनी सम्झन्छिन्।

उनी जनसेनामा गएको अर्को वर्ष जनआन्दोलन भयो। सरकार र माओवादीबीच वार्ता भयो। लडाकुहरुलाई देशका सात वटा शिविरमा राखियो। अनुपमा सिन्धुली शिविरमा पुगिन्।

त्यहीँबाट अनुपमाको कराँते जीवन सुरु भएको हो। शिविरमा रहँदा २०६५ सालमा उनको तौल ६१ केजी पुगेको थियो। तौल घटाउन भन्दै उनी कराते सिक्न थालिन्।

‘म खेलाडी बन्छु भनेर सिक्न गएको थिइनँ। मोटो भएर तौल घटाउन गएको थिएँ,’ अनुपमाले सम्झिइन्, ‘गेम भनेको के हो भनेर बुझेको पनि थिइनँ र यहाँसम्म आइपुग्छु भनेर सपना पनि देखेको थिइनँ।’

माओवादीको तत्कालीन पीएलए क्लबमा कमल वाइबा उनका प्रशिक्षक थिए। त्यहीँ उनले करातेको कखरा सिकिन्। पीएलएले पाँचौं राष्ट्रिय खेलकुद २०६५ मा सहभागिता जनाएको थियो। जसमा उनले कँस्यपदक हात पारिन्।

पछि सेना समायोजनका क्रममा अनुपमासँग सेनामा जाने कि स्वेच्छिक अवकाश रोज्ने भन्ने दुई विकल्प थिए। उनले स्वेच्छिक अवकाश रोजिन्। त्यसका दुई कारण थिए, एक उनी स्वतन्त्र रुपमा खेल जीवन अघि बढाउन चाहिन्थिन्। अर्को, त्यसैबेला आमाको निधनपछि घरपरिवारको जिम्मेवारी पनि उनकै काँधमा थियो।

‘म बाहिर बसेपछि भाइबहिनीलाई पनि राम्रो हुन्छ। उनीहरुको शिक्षादीक्षा पनि हेर्नसक्छु भन्ने लाग्यो,’ काठमाडौंमा दुई बहिनी र एक भाइको जिम्मेवारी बहन गरिरहेकी अनुपमाले भनिन्, ‘ब्यारेकमा भन्दा ट्रेनिङ पनि बाहिर राम्रो हुन्छ भन्ने सुझाव पाएपछि मैले स्वेच्छिक अवकाश लिएँ।’

यो पनि: कीर्तिमानी स्ट्राइकर सावित्राको लक्ष्य : देशका लागि स्वर्ण, आफ्नो ५० गोल

अहिले उनकी एक बहिनी नर्सिङ तेस्रो वर्षमा अध्ययनरत छिन्। कान्छी बहिनी कम्युटर साइन्स पढिरहेकी छिन्। भाइ ९ कक्षामा पढिरहेका छन्। अनुपमाले आफ्नो खेल करिअरसँगै उनीहरुको भविष्यको जिम्मेवारी पनि उठाएकी छिन्।

अवकाश लिएपछि उनले बालाजु डोजोमा प्रशिक्षक ध्रुवविक्रम मल्लसँग थप कराते सिक्दै आफूलाई निखारिन्। सातौं राष्ट्रिय खेलकुदमा रजत हात हारेकी उनले गत वैशाखमा नेपालगञ्जमा भएको आठौँ संस्करणमा भने स्वर्ण हात पारेकी थिइन्।

त्यसअघि उनले कोरियामा २०१४ मा भएको एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। तर, उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन्। ‘पहिलो चरणमै विश्व च्याम्पियन चिनियाँ खेलाडीसँग भिड्नुपरेपछि म आउट भएँ,’ उनले सुनाइन्।

तर, सागमा हात पारेको यो सफलताले उनलाई अघि बढ्न थप प्रेरित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad