ad ad

खेल


१००औं स्वर्ण जित्दाको स्वर्णिम क्षण

१००औं स्वर्ण जित्दाको स्वर्णिम क्षण

लक्ष्मी जि.सी
मंसिर १९, २०७६ बिहिबार ९:४८,

दक्षिण एसियाली खेलकुद (साग) इतिहासमा नेपालले बुधबार एकसयौं स्वर्ण जित्यो। यो ऐतिहासिक स्वर्ण जित्न सफल भएका छन्, सक्षम कार्की।

१३औं संस्करणमा आइपुग्दा तेक्वान्दोका सक्षमले साग प्रतियोगिता अन्तर्गत नेपालले हालसम्म जितेको एकसयौं स्वर्ण जित्ने गर्विलो अवसर जुटाए।

८७ केजीमाथिको तौल समूहमा उनले पाकिस्तानका अक्वर अली शाहलाई २७–९ को फराकिलो अन्तरले पराजित गर्दै नेपालका लागि एकसयौं स्वर्ण जितेका हुन्।

१९८४ मा सुरु भएको सागको १२ औं संस्करणसम्म नेपालले ७१ स्वर्ण पदक जितेको थियो। सक्षमले नेपालका लागि जारी १३औं सागअन्तर्गतको २९औं र समग्र साग इतिहासको एकसयौं स्वर्ण जित्दै नेपालको खेल इतिहासमा थपिएको नयाँ अध्यायमा आफ्नो नाम लेख्न सक्षम भएका हुन्।

उनीअघि नेपाली खेलाडीले नेपालमा जारी सागअन्तर्गत तेक्वान्दोमा १० स्वर्ण जितिसकेका थिए। लक्ष्य उनको पनि स्वर्ण नै जित्ने थियो। अघिल्ला स्वर्णले जति उत्साह थपेको थियो, त्यति नै उनमा पनि सहकर्मीहरुले दिलाएको सफलतालाई निरन्तरता दिने दबाब पनि।

बुधबार साँझ पाकिस्तान खेलाडीसामु ‘एरिना’मा उभिँदा उनको मनमा स्वदेशी भूमीमै जारी यति ठूलो खेलकुद मेलामा स्वर्णपदक जित्ने धोको हुनु स्वभाविक हो।

सक्षमले पाकिस्तानी खेलाडीहरुलाई हराउँदै त्यो धोको पूरा गरे। सागमा पहिलो पटक स्वर्ण जितेपछि उनले भने, ‘यो स्वर्णलाई बयान गर्ने मसँग शब्दै छैन। सपना पुरा भएको महशुस गर्दैछु।’

सागको दोस्रो प्रयासमा सक्षमले स्वर्ण जितेका हुन्। २०१६ मा भारतमा भएको १२औं सागमा नेपालका तेक्वान्दोतर्फ नेपालका ७ खेलाडी फाइनल पुगेका थिए। तीमध्ये एक थिए सक्षम। त्यसबेला रजतमै चित्त बुझाएका उनले यसपटक थप अघि बढ्दै स्वर्ण हात पारेका हुन्।

त्यसबेलाको अनुभव सुनाउँदै उनले भने, ‘मुखमा आइसकेको गाँस कसैले छिने जस्तो लागेको थियो। यसपटक त्यस्तो हुन दिन्न भनेर सोचेको थिएँ। यसपटक अघिल्ला सहकर्मीहरुको सफलताले पनि ममा आत्मविश्वास थप्यो र स्वर्ण हात लाग्यो।’

तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठबाट आठ वर्षदेखि कोटेश्वर डोजाङबाट तेक्वान्दो करिअर शुरु गरेका सक्षमले स्वर्ण जित्दाको अनुभव आफूअघि जितेका खेलाडीहरुले खुशी बाड्दा महशुस गरिसकेका थिए। त्यसले पनि उनलाई लोभ्याएको थियो। त्यसैले पनि स्वर्ण जित्ने अठोट लिएका सक्षमले नेपालका लागि ऐतिहासिक एकसयौं स्वर्ण जिते।

उनलाई भने आफूले सयौं स्वर्ण जितेको बारे पत्तो थिएन। त्यसबारे सञ्चारकर्मीले जानकारी गराउँदा थप प्रफुल्लित हुँदै सक्षमले भने, ‘म त स्वर्ण जित्नुपर्छ भन्नेमै एकाग्ररुपमा लागेको थिएँ। त्यसमा सफल पनि भएँ। तर, मैले जितेको स्वर्णको अझै यति ठूलो अर्थ राख्छ भन्ने थाहा थिएन। यो ऐतिहासिक स्वर्ण रहेछ। अब त मेरो खुशी दोब्बर भएको छ।’

‘ओलम्पियन कीर्तिमानी गुरु दीपक विष्टले सागमा लगातार चौथो स्वर्ण पदक जित्दा जति म खुशी थिएँ। यो विशेष स्वर्ण जित्दा पनि म त्यत्तिकै खुशी छु,’ उनले थपे।

त्यसो त यहाँसम्म आइपुग्न सक्षमले थुप्रै असफलताका स्वाद् पनि चाख्नुपरेको छ। २३ वर्षे सक्षमले २०१४ को एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गरेका थिए। तर, उनी त्यहाँबाट घाइते भएर फर्के। १२औं सागमा पनि उनी फाइनलसम्म पुगेपनि रजतमै खुम्चिनुपर्यो।

‘तर पनि मैले मेहनत गर्न छाडिन। देशका लागि स्वर्ण जित्ने इच्छा मरेको थिएन,’ उनले भने, ‘निरन्तर अभ्यास र दृढ संकल्पले म यहाँसम्म आइपुगेको हुँ। यसमा प्रशिक्षक, परिवारदेखि सबैको साथ रह्यो। यो स्वर्ण उहाँहरुलाई नै अर्पण गर्न चाहान्छु।’

उनी तेक्वान्दोलाई नै आफ्नो सबैकुरा ठान्छन्। ‘तेक्वान्दोबाहेक मैले बाँकी केही सोचेको छैन। जबसम्म सक्छु, यसलाई नै निरन्तरता दिने सोँच छ,’ प्रशिक्षक दीपक विष्टलाई बारम्बार सम्झिदैँ उनले भने, ‘गुरुले पनि म पटक पटक चोटग्रस्त हुँदाको अवस्थामा मलाई हौसला बढाई राख्नुभएको हो। उहाँले मलाई कहिल्यै निराश हुन दिनुभएन। त्यसैले तेक्वान्दो करिअरलाई निरन्तरता दिन सकेँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .