ad ad

खेल


७६ वर्षे ओलम्पियन नामसिंह थापा : भित्तामा मुक्का हानेर प्रशिक्षण गर्दा हात रगताम्य हुन्थ्यो

ओलम्पिकमा नेपालले पदक जितेको हेर्ने रहर
७६ वर्षे ओलम्पियन नामसिंह थापा : भित्तामा मुक्का हानेर प्रशिक्षण गर्दा हात रगताम्य हुन्थ्यो

लक्ष्मी जि.सी
असार ९, २०७९ बिहिबार १५:३८, काठमाडौँ

नेपालले विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा भाग लिन थालेको ६ दशक हुन लागेको छ। तर, अहिलेसम्म नेपालको उपलब्धि भनेको सहभागिता मात्रै हो। 

त्यही भएर अहिले पनि ओलम्पिकमा सहभागी हुन पाउनु नै नेपाली खेलाडीको ठूलो सपना बनेको। ओलम्पिकमा सहभागिता जनाउने अवसर पनि सबैले पाउँदैनन्।

अहिलेसम्म नेपालका केवल ८८ खेलाडीले मात्रै ओलम्पियन बन्ने मौका पाएका छन्। जसमध्ये ८४ जना समर ओलम्पिकमा र चारजनाले युथ ओलम्पिकमा सहभागिता जनाएका छन्। ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकामध्ये ७९ जना ओलम्पियन जीवित छन्।

नेपालले पहिलोपटक सन् १९६४ को टोकियो ओलम्पिकमा सहभागिता जनाएको थियो।  

यिनै ओलम्पियनलाई लक्षित गर्दै नेपाल ओलम्पियन संघले काठमाडौंमा पुनर्मिलन कार्यक्रम आयोजना गर्यो। जहाँ सन् १९६४ को टोक्यो ओलम्पिकदेखि २०२० को टोक्यो ओलम्पिकसम्मका ओलम्पियन सहभागी भएका थिए । 

सहभागीहरुको बीचमा १९६४ को टोक्यो ओलम्पिकमा सहभागी भएका पहिलो पुस्ताका खेलाडीहरु नामसिंह थापा र रामप्रसाद गुरुङ पनि थिए। उनीहरु निकै हर्षित मुद्रामा देखिन्थे। उनीहरु दुवैले सन् १९६४ को ओलम्पिकमा सँगै भाग लिएका थिए। 

७७ वर्षे गुरुङले ओलम्पिकबारे आफूसँग त्यति धेरै सम्झना नरहेको बताए। थापासँग धेरै कुराको सम्झना भएको उनले उल्लेख गरे। 

ओलम्पियन थापा सन् १९६४ तिर फर्किए। ७६ वर्षको उमेरमा पनि १८ वर्षे जोश देखाउँदै थापाले विगत सम्झिए। 

भने, ‘त्यो बेलामा जित्छु भनेर नै गएको थिए। भर्खर १८ वर्षको थिएँ, युवा थिएँ। मलाई जस्तै गोराहरुलाई पनि मलाई जित्ने योजना थियो होला नि है, मसँग रोममा कास्य जितेका खेलाडी परे, उनीसँग म हारेँ।’ 

उनले आफ्नो र अहिलेको समय तुलना पनि गरे। ‘पहिलाको भन्दा अहिले धेरै राम्रो भएको छ। सबैले चिन्छन्, खेलाडीहरु पढेका पनि छन्। पहिला त ट्रफी र बेल्ट दिन्थे अहिले त पुरस्कार पनि राम्रो छ’, उनले भने, ‘मैले खेल जीवनमा अल इण्डिया बेल्ट जितेको छु।’ 

पहिलाभन्दा अहिले नियम पनि धेरै परिवर्तन भएको थापाले सुनाए। ‘त्यो बेला प्रोटेक्सन गियर थिएनन्, अहिले धेरै आएको छ। प्रशिक्षणका सामान पनि धेरै एडभान्स छन्,खेलाडीलाई पनि अवसर छन्’, थापाले भने।   

आफूहरुले डाँडाको भित्तामा हानेर प्रशिक्षण गरेको विगत उनले सम्झिए। ‘हातभरि रगत हुन्थ्यो, तर पनि प्रशिक्षण गर्थ्यौँ। अहिले धेरै कुरा कम्प्युटराइज सिस्टम भयो, अहिलेका केही खेलाडी कम्प्युटरमा एडिक भएजस्तो देखिन्छ। हामी जस्तो हार्ड प्रशिक्षण गर्छन् जस्तो लाग्दैन। हाम्रो जस्तो हार्ड प्रशिक्षण गर्न पनि असम्भव छ। उनीहरुले पनि प्रशिक्षण त गर्छन् तर स्टामिना हुनुपर्छ’, उनले भने। 

जुनसुकै खेलमा होस् खेलाडीको एउटा लक्ष्य हुनुपर्छ। राम्रो प्रशिक्षण, तयारी र स्टामिना राम्रो हुनुपर्छ। नेभर स्मोक, नेभर ड्रिङ्क्स! जुनसुकै खेलको खेलाडीले छाड्यो भने राम्रो हुन्छ। खेल जीवनमा अनुशासन महत्वपूर्ण छ। माइन्डलाई कन्ट्रोल गर्न सक्यो भने लक्ष्य प्राप्त गर्न सक्छन्। दिमागलाई खुल्ला छाड्यो भने गाह्रो छ। 

आफूले प्रशिक्षण गर्ने बेलामा बिहान दिउँसो र साँझमा समय छुट्याएर दौडने, स्पाइरिङ गर्ने स्किपिङ खेल्ने गरेको थापाले सम्झिए। आफ्नो स्टामिना राख्नुपर्छ। बक्सिङ सजिलो छैन। उस्तै पर्‍यो भने मान्छे मर्न पनि सक्छ। 

बक्सिङको नाम सुन्दा लुक्न जान्थेँ
स्याङजामा जन्मिएका थापाले १४ वर्षको उमेरदेखि बक्सिङ खेल्न थाले। तर खेलप्रतिको रुचि भने उनमा सानैदेखि थियो। उनी ३ वर्षको हुँदा बाजेले आफूसँगै लैजान्थे।

उनी मैदानमा मज्जाले दौडन्थे तर गोरु फर्काउन नसक्दा ५ फिट पर पनि हुत्तिएका छन्। अनि रोएर बस्थे। त्यो नै उनको लागि प्रशिक्षणको पहिलो थलो बन्यो।

१४ वर्षमा नै उनी हङकङमा भर्ती भए। त्यो बेलामा बक्सिङ नाम सुन्नेबित्तिकै उनी ट्वाइलेटतिर लुक्न जान्थे। तर कतिञ्जेल लुकेर बस्न सक्थे र। उनलाई त्यहीँ आएर कानमा समाएर बक्सिङ रिङमा लैजान्थे। उनी एकछिन त चुप लागेर बसे, मज्जाले मार खाएपछि उनले पनि हाने।

भन्छन्, ‘पहिला त मार खाएपछि मैले पनि पट्याकपुटुक दे'को त जितेछु मैले त्यसबाट नै बक्सिङ करियर सुरु भयो। त्यसपछि हङकङको फरिस ल्याण्ड फोर्समा जितेँ, अल इण्डिया बेल्ट पनि जितेँ, त्यसको उ बेला नै सिंगापुर डलर २५ हजार जति पथ्र्यो त्यो चाँदीको थियो।’ 

गन (बन्दुक) को जस्तो बक्समा राख्ने अनि अर्को वर्ष फर्काउन पर्ने हुन्थ्यो। उनले खेल्दै जाँदा उनका साथी धेरैले जित्छ भनेर उनीमाथि आशा गरेका थिए। तर, उनले पदक ल्याउन सकेनन्।

भन्छन्, ‘पल्टनमा अन्त पनि ध्यान दिनुपर्थ्यो, त्यसले गर्दा खेलमा त्यति ध्यान दिन सकिनँ। अहिले उनी बुटवलमा समाजसेवीको छवि बनाउँदै बसेका छन्। 

ओलम्पिकको अनुभव 
यो खेल हेर्दा सजिलो भए पनि गाह्रो रहेको उनको अनुभव छ। ‘मेरो समयमा १४ वर्षदेखि खेलेको हो। सिंगापुरमा एउटा गोर्खालीले ३ वटा करङ भाँच्यो, उसलाई हस्पिटल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो', उनले भने, 'मैले पनि धेरैलाई ढालेँ।’ 

ओलम्पिक खेल्न जाँदाको उनको बेग्लै अनुभव छ। त्यो बेलामा ओलम्पियनलाई ओलम्पिक भिलेजमा राखिन्थ्यो। (अहिले पनि राखिन्छ) तर त्यतिबेला जापानको एउटा परम्परा रहेछ। जस्तो टि सेरोमोनीमा तीनपटक दाहिनेतिर घुमाउने खाने अनि बायाँतिर घुमाएर राख्ने हुने रहेछ। अनि ओलम्पियन जुन देशको गयो, त्यसले तीन चक्कर लगाउनुपर्ने अनि झण्डा राख्यो, त्यो ओलम्पिकको भिलेजमा बस्न पाउने। 

बाटोमा निस्किँदा अटोग्राफ माग्थे
त्यही बेला उनी सेलिब्रिटी बनिसकेका थिए। ‘हामी त पल्टने मान्छे बजार घुम्न मन लाग्ने। त्यतिबेला चारवटा गेट थिए। त्यहाँबाट निस्कियो कि अटोग्राफ मागेर हैरान बनाउँथे। कोहीले ठेगाना माग्थे', उनले सुनाए। 

थापाले पनि गाउँको ठेगाना दिए, जहाँ तीन महिनासम्म चिठी आयो। तर, उनले चिठी एउटा पनि पढेनन्, सबै च्यातेर फाले। उनी अहिले त्यतिबेला गल्ती गरेको महसुस गर्छन्। 'खोलेर पढ्न पर्ने रहेछ के के लेखेका रहेछन् भनेर', उनी पछुताउँदै भन्छन्, 'सायद राम्रै लेखेका थिए होलान्।'

उनलाई विवाह गर्ने रहर थिएन। तर बिदामा घर पुग्दा आमाले सधैँ विवाह गर्न दबाब हुन्थ्यो। ‘२०/२२ वर्षमा नै कहाँ विवाह गर्ने?’, उनले सुनाए। 

घर जाँदा एउटै प्रार्थना गर्थे, हे! भगवान् बिहे गर्न नपरोस्। 'पहिला र अहिले धेरै फरक छ नी', उनी भन्छन्, ‘त्यो बेलामा आमाले मलाई बुहारी चाहियो भन्ने, आफ्नो लाइफ पार्टनर घरको लागि राख्नुपर्ने जमाना थियो। तर अहिले चेन्ज भइसक्यो, अहिले त राम्रो छ। दुवै जना मिल्छन्। मेरो नि त्यस्तै भयो।’

उनले बक्सिङ खेल्दा हङकङ र सिंगापुरमा जिते। उनको खेल देखेर नै कति विदेशी केटीले बिहे गर्छु भनेर समेत आए तर मानेनन्।

नेपालले एउटा पदक त जित्नुपर्थ्यो 
लामो समय खेल जीवन बिताउन नपाए पनि छोटो समयमा नै उनले धेरै खेल खेले। उनले १४ वर्षको उमेरदेखि १८ वर्षसम्म मात्रै खेले।

१९६३ को ओलम्पिकमा हारे। तर, पछि १९६८ मा पनि खेल्न पाउने आशा उनमा देखाइयो। त्यो समयमा उनीसँग ८/९ सयवटा म्याच खेलेका ३३ वर्षका खेलाडी परे। उनी हारे। उनी १९६८ को ओलम्पिकमा जान पाएनन्।

त्यो समयमा नेपालका कर्नेल सा'वले स्टोर मात्रै कुरेर बस्नु पछि जमदार पाउँछ भनेर नेपालमै रोजगारीको अफरसमेत गरेका थिए। तर उनलाई उतै बानी परिसकेकाले बस्न मानेनन्। ‘हङकङले नै  बस भनेर बसको थिएँ,’  उनी भन्छन्।

तर खेलप्रतिको मोह अझै घटेको छैन। त्यो जोश अझै पनि उनको आवाजमा प्रष्ट सुन्न र देख्न सकिन्छ। आफू बाँचुञ्जेल नेपालले एउटा स्वर्ण ल्याएको हेर्ने उनको ठूलो रहर छ। 'जुनसुकै खेलले जस्तो सुकै पदक ल्याओस् तर ओलम्पिकमा पदक ल्याएको हेर्न पाए आनन्दले मर्न पाउँथे', कुराकानीको बिट मार्दै उनले थपे, 'मनमा एउटा सन्तोष हुन्थ्यो। एउटा पदक त जित्नुपर्थ्यो, नेपालले पदक जित्छ जस्तो लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .