ad ad

खेल


एनएसजेएफ फुटशलको उपाधि टिम क्यानडालाई

एनएसजेएफ फुटशलको उपाधि टिम क्यानडालाई

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार २१:०, काठमाडौँ

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको ‘एनएसजेएफ फुटशल फेस्टिभल’को उपाधि टिम क्यानडाले जितेको छ। 

ललितपुरको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आज भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिकालाई पेनाल्टी सुटआउटमा २–१ गोलअन्तरले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो। निर्धारित र थप गरिएको समयमा ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो।

पेनाल्टीमा टिम क्यानडाका अभिनव जोशी र वासु अवालले गोल गरे। तर मुना कार्की भने पेनाल्टीमा गोल गर्नबाट चुकिन। टिम अमेरिकाका निशान राईले पेनाल्टीमा गोल गर्दा दिल तामाङ र गीता राईले भने गोल गर्न सकेनन्। पेनाल्टी अघि टिम क्यानडाका अभिनव जोशीले दुई र बासु अवालले एक गोल गरे। यस्तै टिम अमेरिकाका दिल तामाङले दुई तथा सुजन श्रेष्ठले एक गोल गरे। 

चार टोली सहभागी उक्त प्रतियोगितामा टिम अमेरिका तीन खेल जित्दै शीर्ष स्थानमा पुगेको थियो। टिम क्यानडा तीन खेलमध्ये दुईमा जित हासिल गर्दै  फाइनल पुगेको थियो।

एकदिने प्रतियोगिताको लिग चरणअन्तर्गत पहिलो खेलमा टिम अमेरिकाले टिम क्यानडालाई ६–३ गोलले हराएको थियो। दोस्रो खेलमा टिम मलेसियाले टिम अष्ट्रेलियालाई ३–१ गोलले पराजित गरेको थियो। तेस्रो खेलमा टिम अमेरिकाले टिम मलेसियालाई ४–२ गोल अन्तरले हराएको थियो। चौथो खेलमा टिम क्यानडाले टिम अष्ट्रेलियालाई ५–० गोल अन्तरले पराजित गरेको थियो। लिग चरणको अन्तिम खेलमा टिम अमेरिकाले टिम अष्ट्रेलियालाई १–० गोलले हराएको थियो। 

प्रतियोगितामा पुरुषतर्फ टिम क्यानडाका अभिनव जोशी र महिलातर्फ गीता राई उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा उत्कृष्ट गोलकिपर टिम अमेरिकाका सञ्जय थापा, इमर्जिङ प्लेयर टिम मलेसियाका आशिष पुडासैनी, उत्कृष्ट व्यवस्थापक टिम क्यानाडाका दीपेश तिमल्सिना, गोल अफ द मोमेन्ट टिम अमेरिकाका निरञ्जन राजवंशी, मोमेन्ट अफ द डे टिम क्यानडाका भरत बोम्जन, अट्रायक्टिभ प्लेयर अवार्ड अमेरिकाका निशान राई र फ्यान अफ द डे पूजा शाक्य र सुमन सिवाकोटी घोषित भए। 

प्रतियोगिताका विजेता खेलाडीलाई मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सुन्दर थापा, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रतियोगिता तथा लिग निर्देशक सञ्जिव मिश्रलगायतले पुरस्कार प्रदान गरे। मञ्चका अध्यक्ष सुवेदीले मञ्चमा आबद्ध सदस्य र विदेशमा रहेका मञ्चका पूर्वसदस्यबीच आपसी भाइचारा बढाउनका लागि फेस्टिभल आयोजना गरिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .