मेहबुब आलम कप्तानीको रुपनी राईडर्सलाई २ विकेटले पराजित गर्दै पुष्प थापाको कप्तानीमा रहेको डाक्नेश्वरी ड्रागनले मेयर कप सप्तरी प्रिमियर लिग–२ को उपाधि जितेको छ। उपाधिसहित डाक्नेश्वरीले २ लाख तथा उप–विजेता रुपनी राइडर्सले १ लाख रुपैयाँमा चित्त बुझायो।
राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुलको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको रुपनीले दिएको १ सय १६ रनको लक्ष्य ड्रागनले अन्तिम बलमा ८ विकेट गुमाएर भेटाएको थियो।
ड्रागनको जितमा विशाल सुश्लिङले ३८, पुष्प थापाले २१ तथा अविनाश कर्णले २० रन जोडे। राइडर्सका सैदुल्लाह अन्सारीले ३ विकेट लिए। यस्तै अनोज यादबले २ विकेट तथा प्रदिप पासवान र मेहबुब आलमले १–१ विकेट लिए।
यसअघि रुपनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो। उसका सन्तोष कार्कीले सर्वाधिक १९, सोनु अन्सारीले १८ , मुकेश यादबले १६ रन जोडे। डाक्नेश्वरीका दिपेश कंडेल, पुष्प थापा र प्रेम तामांगले २–२ विकेट लिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी डाक्नेश्वरी ड्रागनका राहुल मण्डल चुनिए। उनले १५ हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अन्सारी तथा उत्कृष्ट बलर डाक्नेश्वरी ड्रागनका रोबिन सिंह घोषित भए। उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैयाँ प्राप्त गरे।
प्रतिक्रिया