खेल


सागमा राष्ट्रिय झण्डा बोक्ने जिम्मा पाएका कमल को हुन्?

सागमा राष्ट्रिय झण्डा बोक्ने जिम्मा पाएका कमल को हुन्?

नेपालखबर
मंसिर १४, २०७६ शनिबार ११:४१,

ती खेलाडीहरुमध्येबाट नेपाल ओलम्पिक कमिटिले शनिबार भारोत्तोलनका कमलबहादुर अधिकारीलाई राष्ट्रको झण्डा बोक्ने गौरवशाली अवसर सुम्पियो।

ओलम्पिक कमिटिले खेल अनुभव, अन्तर्राष्ट्रिय पदक तथा ओलम्पिक समेतमा सहभागिताका जनाएको आधारमा सिफारिस परेका नामहरुमध्ये कमलको नाम छानेको हो।

साग तयारी तथा प्राविधिक समितिले कमलसँगै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नाम झण्डा बोक्ने खेलाडीका लागि सिफारिस गरेको थियो।

पारसले भने ओलम्पिक अन्तर्गतका खेलहरुमा सहभागितामा खासै उपलब्धि हासिल नगरेकाले कमलले यो जिम्मेवारी पाएका हुन्। पछिल्ला वर्षहरुमा क्रिकेट तथा पारस खड्काले उपलब्धिहरु हासिल गरेपनि ती अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अन्तर्गतका खेलहरु थिए।

नेपालले आयोजना गर्ने सबैभन्दा ठूलो खेल मेलामा देशको झण्डा बोक्न पाउँदा कमल भने गौरवाम्वित छन्। भारोत्तोलनका खेलहरु पोखरामा हुने भएकाले कमलले शनिबार पोखरामानै यस खबर पाएका थिए।

नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘देशको प्रतिनिधित्व गर्दै झण्डा बहन गर्न पाउनु खेलाडीका लागि गौरवको क्षण हो। म निकै खुशी छु। देशले पनि मैले गरेको मेहनतको कदर गरेको जस्तो लाग्छ।’

उसो त कमलले पहिलोपटक देशको झण्डा ठूला प्रतियोगितामा बोक्न लागेका हैनन्। यसअघि पनि तीनपटक उनले एसियन गेम्समा देशको झण्डा बोकिसकेका छन्। त्यसका पछाडि उनले हासिल गरेका उपलब्धिहरु नै मुख्य कारण हुन्।

उमेरले ४३ छोइसकेका कमल नेपालको तर्फबाट साग भारोत्तोलनमा स्वर्ण जित्ने एक्ला खेलाडी हुन्। उनले १०औं कोलम्बो सागमा स्वर्ण जितेका थिए। ओलम्पिकसहित चार एसियाड खेल्ने उनी एक्लो नेपाली भारोत्तोलक खेलाडी पनि हुन्।

गतवर्ष भदौंमा भएको १८औं एसियाली खेलकुदअन्तर्गत कमलले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए।

नेपाली भारोत्तोलनका सफल खेलाडी कमल चौथोपल्ट साग खेल्न लागेका हुन्। नवौं सागमा डेब्यु गरेका उनले दसौं सागमा स्वर्ण जितेका थिए।

त्यसपछि ११औं संस्करणमा खेलेपनि उनी पदकविहीन भए। १२औं सागमा भने शान्ति मिसनमा भएकाले उनले सहभागिता जनाएनन्।

खेल जीवनको अन्त्यतिर रहेका कमलबाट यसपटक नेपालले स्वर्णको अपेक्षा राखेको छ। ‘करिअरको अन्त्यतिर छु। यसपटक घरेलु मैदानमै देशका लागि पदक जित्दै सुखद विदाईको सोच बनाएको छु,’ कमलले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad