म शिक्षक ,
अर्थात धर्के मास्टर!
कोही मास्टर भनेर मजाक उडाउछन्
कोही धर्के भनेर व्यंग्य कस्छन्
हो, वास्तवमै म धर्के मास्टर नै हुँ
तिम्रो कोरा विवेक खिपेर,
तिमीलाई अलिकति चुस्त र आकर्षक आकार ढाल्ने
तिम्रो बुद्धिको बिर्को खोलेर तिमीलाई ‘स्मार्ट’ बनाईदिने।
म टेलर मास्टर,
तिम्रो उद्रेको भोटो टिप्दिन हर्दम तयार
मुजुरी भर्ने भन्दै बराजुले राखेको ।
तिम्रो उदाङ्ग आचारणदेखि
फोहोरी आवरणसम्म काँटछाँट गर्ने,
हो, म हजाम मास्टर
दिव्यदृष्टि उघ्रेछ तिम्रो बधाई छ तिमीलाई।
म निस्फिक्री स्वीकार्छु
हो, म धर्के हो, धर्के मस्टर
तिमीलाई पहिलो ‘कपूरी क’ को
धर्को तान्न सिकाउने मै हुँ,
तिमीले दायाँबायाँ लर्बराउँदा
तिम्रो गन्तब्यलाई सिधा धर्को झैँ
सोझ्याइदिन हरदम तयार रहने, मै धर्के हुँ
महसुस गरेछौ, धन्यवाद छ।
मेरो पोशाकको निलो रङ देखेर
निधार खुम्चाउँदै टिप्पणी गर्ने टाई धारी सेता मान्छेहरु हो
साच्चै मलाई मेरो पोशाकमा गर्व छ
काला कर्महरुलाई सेता खोलहरुले
ढाकछोप पार्दै गुज्रनु मेरो दैनिकी होइन!
मैले त हाँसीहाँसी स्वीकार्नु पर्छ समस्या,
अनि निस्वार्थ हमला गर्नुपर्छ र कोरिदिनु पर्छ नयाँ गन्तब्य,
त्यसैले मलाई,
दौलत र दम्भमा लालची आत्मसमर्पण गर्ने छुट छैन
र त, मलाई आत्मसमर्पणको रङप्रति
चाह होइन वितृष्ण जाग्छ
किनकि म निलो रङवाला मास्टर
आफ्नै आत्मस्वाभीमानमा खुसी छु!
बरु कहिलेकाहीँ मलाई लाग्ने गर्छ
एउटा दुबिधा आएर उभिन्छ मेरो अगाडि
तिमीलाई सिकाउने प्रयास मै
जीवन गुजारेको म
तर, तिमीलाई किन सिकाउन सकिनँ
थोरै नैतिकता,
अलिकति सभ्यता,
र, अलिबढी इमान्दारिता।
Shares

प्रतिक्रिया