ad ad

खेल


एन्फाको नयाँ नेतृत्वका लागि तीनजना मैदानमा

कर्माछिरिङलाई पंकज र राजीवको चुनौती
एन्फाको नयाँ नेतृत्वका लागि तीनजना मैदानमा

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १४:५८, काठमाडौँ

असार पहिलो साता हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षका लागि तीनजना प्रतिस्पर्धी चुनावी मैदानमा देखिएका छन्। 

एन्फाको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल भिड्ने निश्चित भएको छ। 

अघिल्लो चुनावमा एउटै प्यानलबाट लडेका शेर्पा र नेम्वाङ यो पटक फरक प्यानलबाट अध्यक्षका लागि मैदानमा उत्रिएका छन्।

नेम्वाङ समूहले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको हो। यो समूहबाट अध्यक्षमा नेम्वाङ र वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का चुनाव लड्ने निश्चित भएको हो।

अन्य सदस्यको भने केही दिनमा घोषणा गरिने नेम्वाङ समूहले जनाएको छ। नेम्वाङ समूहको उम्मेदवारी घोषणा कार्यक्रममा ५३ जना मताधिकार प्राप्त सदस्य उपस्थित भएका थिए।

सोमबार शेर्पा समूहले आफ्नो प्यानलका सबैको उम्मेदवारी घोषणा गरेको हो। शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ, उपेन्द्रमान श्रेष्ठ र विज्ञानराज शर्मा रहेका छन्। 

त्यस्तै,  सदस्यमा  दीपक थापा (फ्रेन्ड्स क्लब), प्रविन यादव (सिरहा जिल्ला), रुपेश अधिकारी (साँगा क्लब), लोकेन्द्र गुरुङ (लमजुङ जिल्ला फुटबल संघ), रामराजा गुरुङ (बाग्लुङ जिल्ला फुटबल संघ), टीकाराम लामा (मकवानपुर जिल्ला फुटबल संघ), प्रवेशसिंह राठोर (बाँके जिल्ला फुटबल संघ), भरतजंग थापा (जुम्ला जिल्ला फुटबल संघ), अनिल श्रेष्ठ (मछिन्द्र क्लब), रमेश व्यञ्जनकार ( च्यासल युथ क्लब), मणिराम विष्ट (खुमलटार युथ क्लब) र मनीष जोशी (भगवती क्लब) रहेका छन्। 

शेर्पा समूहको उम्मेदवारी घोषणा कार्यक्रममा ५४ जना मताधिकार प्राप्त सदस्य उपस्थित भएका थिए।

सोमबार नै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

यसअघि दुई पटक फ्रेन्ड्स क्लबको अध्यक्ष सम्हालिसकेका पौडेल हाल एन्फाको मार्केटिङ समितिको संयोजक तथा एएफसीको मार्केटिङ समितिको सदस्य रहेका छन्। 

पौडेलको उम्मेदवारी घोषणा कार्यक्रममा मताधिकार प्राप्त कोही पनि प्रतिनिधि उपस्थित थिएनन्।

यद्यपि उनले उम्मेदवारी दर्ता गर्दासम्म प्रस्तावक र समर्थक बन्न आवश्यक प्रतिनिधिको सहयोग पाउने अपेक्षा गरेका छन्।एन्फाको चुनावी साधारण सभा असार ६ गते हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .