नेपाली महिला भलिबल टोलीले सम्भवतः बिहीबार चिरप्रतिद्वन्द्वी भारतविरुद्ध कम्तीमा एक सेटमा जित हात पार्ने सुन्दर मौका गुमायो।
एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन्ससिपमा कुनै पनि सेट नहारेर चार देशलाई पराजित गर्दै उच्च मनोबलका साथ यसपटक नेपाली चेलीहरु १३औं दक्षिण एसियाली खेलकुद(साग)मा सहभागी हुँदै थिए। खेलाडीहरु पनि उच्च लयमा थिए। खेल सुरु हुने एक दिन अघिमात्रै सरकारले जनही ३ लाख दिँदै मनोबल उच्च पार्ने प्रयास पनि गरेको थियो।
चेलीहरुले पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेर प्रदर्शन पनि देखाए। त्यसको भोलिपल्ट (बिहीबार) नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको थियो। घरेलु कोर्टमा सयौंको संख्यामा दर्शकहरुले सुरुवातदेखि नै नेपाली टोलीको हौसला बढाउन कुनै कसुर बाँकी राखेनन्।
पहिलो सेटमा नेपालले दमदार सुरुवात पनि गर्यो। सुरुवातबाटै भारतविरुद्धको अग्रताले कभर्ड हलको माहौल पूरै नेपाल पक्षीय भएको थियो। जित्न अन्तिम अंक(२४–२२)बाँकी रहँदा जो सुकैले पनि नेपालले पहिलो सेट सहजै जित्ने अनुमान गरेका थिए।
तर, अनुमान विपरीत भारतले उत्कृष्ट पुनरागमन गर्दै लगातार ४ अंक जोड्यो र नेपालको मुखैबाट गाँस खोसेर लग्यो। त्यसले कभर्ड हलको माहौल शान्तमात्रै बनाएन नेपाली खेलाडीहरुको मनोबल नै गिराइदियो।
त्यसपछि लगातार दुई सेटमा फितलो प्रदर्शनसँगै पराजित भएपछि नेपाली प्रशिक्षक जगदीश भट्टले भने, ‘पहिलो सेट गुमाउनु नै हाम्रा लागि दूर्भाग्य भयो। हामीले बिना दबाब मैदानमा उत्रने राणनीति बनाएका थियौं। तर, पहिलो सेट गुमाउँदा दबाबमा आउन पुग्यौं।’
भारतीय कप्तान निर्मल तनवरले पनि पनि पहिलो सेटमा नेपालको सशक्त प्रदर्शन देखेपछि आफूहरुले गुमाउने ठानिसकेको प्रतिक्रिया दिइन्। ‘पहिलो सेटमा २४–२२ ले पछाडि परेपछि हामीले त्यो सेट गुमाउँछौं कि भन्ने मलाई लागेको थियो,’ कप्तान तनवरले भनिन्, ‘तर, भाग्यले हामीलाई दियो र हामीले सेट जित्न सफल भयौं’, नेपाली टोलीले पहिलेभन्दा धेरै राम्रो प्रदर्शन ग¥यो।
सागका १९९९, २०१० र २०१६ गरि तीन पटक नेपाली महिला टोलीले सहभागिता जनाउँदा तीनै पटक नेपालले भारतलाई एक सेटपनि जित्न सकेको थिएन। तर, बिहीबार भने पहिलो पटक सेट जित्ने ऐतिहासिक अवसरको नजिक पुगेर पनि नेपालले सुन्दर मौका गुमायो।
अन्तिम एक अंक जोड्न नसकेर पहिलो सेट गुमाउनुको कारणबारे नेपाली महिला भलिबलमा लामो समय योगदान पुर्याएका तथा न्यू डाइमन्ड एकेडेमीका प्रशिक्षक कुमार राईले भने, ‘खेलमा नेपालको प्रदर्शनलाई नराम्रो भन्न मिल्दैन। तर, भारतीय टोलीमा व्यवसायिक खेलाडीहरु छन्। उनीहरुसँग दबाबमा पनि खेल्न सक्ने क्षमता छ। त्यही अभाव हाम्रा खेलाडीमा देखियो। म्याच एक्सोजरकै कमीका कारण अन्तिम समयमा हामी चुक्नुपर्यो।’
सागकै लागि मात्रै पहिलोपटक नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय म्याच एक्सोजरका रुपमा एक हप्ता कम समयको एभीसी सेन्ट्रेल जोन भलिबल खेल्न पाएको थियो। त्यसमा पनि आफूभन्दा कमजोर टिमहरुसँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाली खेलाडीहरुले पर्याप्त रुपमा ठूलो खेलमा दबाबमा कसरी प्रस्तुत गर्ने भन्नेबारे अनुभव भइनसकेको राईले बताए।
पहिलो सेटको अन्तिम समयमा हासिल गरेको पुनरागमनलाई दोस्रो र तेस्रो सेटमा पनि कायम राख्यो। त्यसको ठीक विपरीत पहिलो सेटमा जितको नजिक पुगेर गुमाएको नेपाली टोलीमा त्यसको असर पछिल्ला दुई सेटमा पनि पर्यो।
यसअघिका तीन संस्करणमा कास्यमा चित्त बुझाएको नेपाली टोलीले यसपटक त्यसभन्दा माथिल्लो पदकको अपेक्षा राखेको थियो। तर, भारतसँगको हारसँगै नेपालको सपनालाई समेत झट्का पुगेको छ।
‘यसपटक सागकै लागि चार महिनाको अभ्यास, थाइल्यान्ड भ्रमण तथा अभ्यास खेलहरुले नेपाली खेलाडीहरुको मनोबल उच्च थियो। त्यसकै परिणाम हामीले भारतसँग पहिलो सेटमा सशक्त प्रदर्शन गर्न सक्यौं,’ राईले भने, ‘नेपाली खेलाडीको यही लयलाई गतिलाई निरन्तरता दिन सके भारतलाई पराजित गर्ने दिन म टाढा देख्दिनँ।’
Shares

प्रतिक्रिया