ad ad

खेल


दीपेन्द्र र आदिलको विस्फोटक ब्याटिङमा नेपालले पीएनजीलाई दियो २०४ रनको लक्ष्य

दीपेन्द्र र आदिलको विस्फोटक ब्याटिङमा नेपालले पीएनजीलाई दियो २०४ रनको लक्ष्य

अर्धशतक प्रहार गरेपछि दीपेन्द्रसिंह ऐरी। तस्बिर : विक्रम राई


नेपालखबर
चैत १७, २०७८ बिहिबार १४:८, काठमाडौँ

मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरी र आदिल अन्सारीको विस्फोटक ब्याटिङमा टि २० आई त्रिकोणात्मक सिरिज अन्तर्गतको आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले पपुवा न्युगिनीसामु २ सय ४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रनको विशाल योगफल तयार पारेको हो। चौथो विकेटका लागि ऐरी र अन्सारीले ७६ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपालले पीएनजीसामु विशाल लक्ष्य प्रस्तुत गरेको हो। 

मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको महत्वपुर्ण योगदान दिए। ऐरीले २९ औँ बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। १७ औँ ओभरमा लगातार तीन छक्का प्रहार गरेका दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का हाने। दिपेन्द्र १८औँ ओभरको अन्तिम बलमा लामो सट खेल्ने धुनमा हुँदा क्याच आउट हुन पुगे। 

आदिल अन्सारी ३१ रनमा पवेलिन फर्के। डेब्यु खेलमा नै विस्फोटक ब्याटिङ गरेका आदिलले ११ बलमा १ चौका र ३ छक्का हाने। आदिल १९औँ ओभरको दोस्रो बलमा एलबीडब्लु धरापमा परे। आदिलले कुशल मल्लको स्थान लिएका हुन्। 

रोहित पौडेलले ४१ रन थपे। रोहित १४ औँ ओभरको दोस्रो बलमा रिले हेकुरेको बलमा सेसे बाउको हातबाट क्याच आउट भए। रोहितले २३ बलमा ४ चौका र २ छक्का हाने। 

पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले ४४ रनको साझेदारी गर्दै नेपाललाई मध्यम सुरुवात दिलाएका थिए। 

ओपनर आशिफ शेखले ३८ रन थपे। २९ बलमा ४ चौका र १ छक्का हानेका आशिफ नोर्मान भानुवाको बलमा सेसे बाउको हातबाट नै क्याच आउट हुन पुगे। 

अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाउँदै पवेलियन फर्के। कुशलले २० बलमा २ चौका हाने। पीएनजीका लागि रिले हेकुरेले २ तथा नोर्मान भनुवाले एक विकेट लिए। रिलेले आफ्नो स्पेलमा २२ रन खर्चे। 

सिरिजमा पीएनजी पहिलो जितको खोजीमा हुँदा नेपाल लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै फाइनल पुग्ने लक्ष्यमा छ। 

नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो। दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। पीएनजी भने पहिलो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .