ad ad

खेल


कतार विश्वकपमा देखिने छैनन् यी प्रख्यात फुटबलर

कतार विश्वकपमा देखिने छैनन् यी प्रख्यात फुटबलर

नेपालखबर
चैत १७, २०७८ बिहिबार १४:६, काठमाडौँ

यसै वर्ष कतार हुन लागेको विश्वकप प्रतियोगितामा अन्तिम चरणका छनोट खेल जारी छ। 

अधिकांश छनोट खेल सकिन लाग्दा विश्वकप खेल्ने २७ टोलीको टुङ्गो लागिसकेको छ।

अब केवल ५ टोली छानिन बाँकी छन्। यस्तोमा स्टार खेलाडी भएका केही देश विश्वकपमा पुग्न असफल भएका छन्।

प्रभावशाली र जादुमय खेल कौशल भएका कयौँ स्टार खेलाडीहरूले कतार विश्वकपको टिकट काट्न सकेनन्।

उनीहरुमध्ये विश्वभर लोकप्रिय इङ्ग्लिस प्रिमियर क्लबमा आवद्ध मोहम्मद सलाहदेखि एसी मिलानका ज्लाटान इब्राहिमोभिकसम्म छन्। 

कतार विश्वकप गुमाउने स्टार खेलाडीहरुमा नर्वेका इर्लिङ हलान्डदेखि अल्जेरियका रियाद महारेजसम्म छन्। 

मोहम्मद सलाह (इजिप्ट) 
इजिप्टका मोहम्मद सलाह यसपटकको विश्वकपमा मैदानमा देखिने छैनन्। विश्वकप छनोटको खेलमा सेनेगलसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उनको टोली बाहिरिएको हो।

सेनेगलसँगको पेनाल्टी सुटआउटमा सलाहले नै गोल गर्न चुके। उनले हानेको बल पोस्टमाथिबाट गएपछि विश्वकप यात्रा पनि त्यहीँ तुहियो।

यसअघि अफ्रिका कप अफ नेसन्सको फाइनलमा पनि इजिप्टलाई सेनेगलले पाखा लगाएको थियो। लिभरपुलबाट व्यवसायिक फुटबल खेलिरहेका २९ वर्षीय सलाहले काँधको चोटका बाबजुद सन् २०१८ को विश्वकप खेलेका थिए। 

एर्लिङ हालान्ड (नर्वे) 
चोटको सामना गरिरहेको एर्लिङ हालान्डले पनि आगामी नोभेम्बरदेखि सुरु हुने विश्वकपमा सहभागी हुन नपाउने भएका छन्।

 निर्णायक खेलमा नेदरल्याण्ड्ससँग पराजित भएसँगै नर्वे विश्वकप छनोट हुन नसकेको हो।

नर्वेले पछिल्लोपटक सन् १९९८ को विश्वकप खेलेको थियो। हालान्डको गोल सहयोगमा त्यसयता पहिलोपटक विश्वकप खेल्ने संघारमा पुगे पनि नेदरल्याण्ड्ससँगको हारसँगै विश्वकप सपना पूरा हुन पाएन। 

जाल्टन इब्राहिमोभिच (स्वीडेन)
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास फिर्ता गरेर युरोकप खेल्ने लक्ष्य राखेका इब्राहिमोभिकले चोटका कारण उक्त प्रतियोगिता खेल्न पाएनन्।

प्ले अफको फाइनलमा पोल्याण्डसँग पराजित भएसँगै उनले यसपटकको विश्वकप पनि गुमाउने भएका छन्। यद्यपि उनले सन् २०२४ को युरोकप खेल्न सक्ने सम्भावना छ। उनी इटालियन क्लब एसी मिलानबाट व्यवसायिक फुटबल खेल्छन्।

जियानलुइजी डोनारुम्मा (इटाली) 
युरोकप २०२० मा को प्लेयर अफ द टुर्नामेन्ट बनेका इटालीका गोलकिपर डोनारुम्माले पनि यसपटकको विश्वकप खेल्न पाउनेछैनन्।

इटालीलाई युरो कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले प्ले अफको नर्थ म्यासिडोनियासँगको खेलमा टोलीलाई हारबाट बचाउन सकेनन्।

यसअघि च्याम्पियन्स लिगमा रियल मड्रिडसँगको खेलमा उनको एक गल्तीका कारण पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो। 

लुइस डियाज (कोलम्बिया) 
गत वर्षको कोपा अमेरिकामा लियोनेल मेस्सीसँग गोलको बराबरी गरेका कोलम्बियाका लुइस डियाजले पनि यसपटकको विश्वकप गुमाउनेछन्।

२५ वर्षीया डियाजले आफ्नो टोलीलाई विश्वकपमा पुर्‍याउन सकेनन्। यद्यपि उनको क्लब करियर भने अहिले उचाइमा छ। उनी गत जनवरीमा पोर्टोबाट लिभरपुल गएका थिए।

रियाद महरेज (अल्जेरिया) 
अफ्रिकन प्लेयर अफ द इयरको उपाधिसमेत जितेका अल्जेरियाका महरेज पनि कतार विश्वकपमा हुने छैनन्।

गत मंगलबार भएको खेलमा अन्तिम चार मिनेट क्यामरुनलाई रोक्न नसकेको कारण उनको टोली विश्वकपमा पुग्नबाट बञ्चित भएको हो।

उनी सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सहभागी भएका थिए। 

जान ओब्लाक (स्लोभानिया) 
विश्वका उत्कृष्ट गोलकिपरमध्ये एक ओब्लाकले पछिल्लो समय एथ्लेटिको मड्रिडका लागि राम्रो खेल्दै आएका छन्।

यद्यपि यसपटक पनि उनको टोली विश्वकपमा छनोट हुन सकेन। स्लोभानियाले सन् २०१० मा अन्तिमपटक विश्वकप फुटबल खेलेको थियो।

भिक्टर ओसिमेन (नाइजेरिया)
नाइजेरियाका ओसिमेनले पनि यसपटकको विश्वकपमा गुमाउने भएका छन्।

मंगलबार भएको खेलमा घानासँग पराजित हुँदै उनको टोली विश्वकपबाट बाहिर भएको हो।

नाइजेरियाको राष्ट्रिय टोलीका स्ट्राइकरसमेत रहेका ओसिमेनले सिरिए को नापोलीबाट खेल्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .