ad ad

खेल


पोखरीभित्र भलिबल प्रतियोगिता!

पोखरीभित्र भलिबल प्रतियोगिता!

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत १४, २०७८ सोमबार ५:३७, बागलुङ

बाहिरतिर सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल खेलेको देखेसुनेकै हो। हाम्रोमा भने नौलो हुन सक्छ, पानीमा खेलिने भलिबल। राष्ट्रिय खेल भलिबलका लागि उर्वर थलो गलकोटमा मङ्गलबारदेखि पानीमा खेल्ने भलिबल प्रतियोगिता (वाटर भलिबल गेम) हुँदै छ। 

गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गर्ने भएकाे हो। रिसोर्टमा रहेको पौडीपोखरीमा खेल सञ्चालन हुने रिसोर्टका सञ्चालक हुम थापाले जानकारी दिए। पाँच दिनसम्म चल्ने प्रतियोगितामा वडास्तरीय टोली सहभागी हुनेछन्।

“१५ देखि २० टिमले स्पर्धामा भाग लिने अनुमान छ, गुल्मीसम्मका खेलाडी टिम सम्पर्कमा आएका छन्”, सञ्चालक थापाले भने, “खेलको प्रवर्द्धनसँगै गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो।”

 गलकोट भलिबल टोलीका प्रशिक्षक सुरेन्द्र केसीले सम्भवतः नेपालमै पहिलोपटक यस किसिमको भलिबल खेल हुन लागेको बताए। “यो जहीँतहीँ खेलाउन सम्भव हुँदैन, मापदण्ड पुग्ने पौडीपोखरी चाहिन्छ”, उनले भने, “गलकोटमा पूर्वाधार पनि भएको र खेलाडी पनि उत्सुक देखिएकाले प्रतियोगिता पक्कै सफल हुनेछ।”

यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ। पौडीपोखरीभित्र भलिबल खेल हुने चर्चाले खेलप्रेमी पनि प्रतियोगिता हेर्नका लागि उत्साहित छन्। रिसोर्ट परिसरमा रहेको २० मिटर लामो पौडीपोखरीमा खेल हुनेछ।

एक टोलीबाट चारजना खेलाडी स्पर्धामा उत्रनेछन्। खेल लिग प्रणालीबाट खेलाइने आयोजकले जनाएको छ। प्रतियोगितामा पहिलो हुने टोलीले नगद रु ३० हजारसहित कप र मेडल र दोस्रोले रु १५ हजारसहित मेडल र तेस्रोले रु ८ हजार पुरस्कार पाउनेछन्। टोली दर्ता शुल्क रु २ हजार राखिएको छ। प्रतियोगिता सञ्चालनका लागि रु १ लाख ५० हजार खर्च हुने आङ्कलन आयोजकको छ। 

पुरस्कारका लागि प्रायोजनसमेत जुटाइएको छ। जिल्ला भलिबल सङ्घका अध्यक्ष याम श्रीसले पानीमा खेलिने भलिबलबारे आफूलाई धेरै जानकारी नभएको प्रतिक्रिया दिए। “अन्यत्र देशमा त खेलेको देखिन्छ, नेपालमा अहिलेसम्म भएको थाहा छैन, यसको प्राविधिक पक्ष र अरू विषयमा म पनि अनभिज्ञ छु”, उनले भने।। 

अध्यक्ष श्रीसले सानो स्तरबाट भए पनि खेल आयोजना हुनुलाई सुखद मान्नुपर्ने बताए। गलकोट भलिबलका लागि नामुद ठाउँ हो। पछिल्लो समय गलकोट भलिबल टोलीले देशका विभिन्न भूभागमा हुने प्रतियोगितामा लगातारजसो जितेकाे छ। गत साता ताप्लेजुङको पाथीभरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधिसँगै रु ५ लाख ५५ हजार ५५५ हात पारेको टोलीका प्रशिक्षक केसीले बताए। 

त्यसअघि मोरङको उर्लाबारीमा भएको प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिताको उपाधि पनि गलकोटले हात पारेको थियो। गत पुसमा स्याङ्जाको पुतलीबजारमा भएको दोस्रो पुतलीबजार कप अन्तरपालिका भलिबल प्रतियोगितामा पनि गलकोट विजयी बन्दै उपाधिसँगै रु ५ लाख जितेको थियो।

गत वर्षको प्रथम पुतलीबजार कपमा पनि गलकोट नै विजयी बनेको थियो। जिल्लादेखि क्षेत्र र राष्ट्रियस्तरका प्रतियोगितामा समेत गलकोटका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गलकोटबाट जापानलगायत देशमा पुगेका युवाले पनि क्लब गठन गरी भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .