खेल


अप्रिल अन्त्यमा मन्जुश्री ट्रेल रेस

अप्रिल अन्त्यमा मन्जुश्री ट्रेल रेस

नेपालखबर
चैत ७, २०७८ सोमबार १३:२२, काठमाडौँ

ट्रेलमान्डुको आयोजनामा हुने मन्जुश्री ट्रेल रेस आगामी अप्रिल अन्त्यमा हुने भएको छ। 

रेस अप्रिल २९ देखि मे १ सम्म सञ्चालन हुने ट्रेलमान्डुका आशिष मिश्रले बताए। यसअघि १०० माइलमा गराइँदै आइएको ट्रेल रेस यसपल्ट भने ५० माइल र ५० किमी गरि तीन स्पर्धामा गराइनेछ।

‘हामीले रजिष्ट्रेसन खोलिसकेका छौं। ८० जनाभन्दा बढीले रजिष्ट्रेसन गराइसक्नुभएको छ,’ मिश्रले भने, ‘यसपाली दुई नयाँ विधा थपेका छौं। दुई सयभन्दा बढीलाई सहभागिता गराउने लक्ष्य छ।’

आयोजक टोलीले अहिले ट्रेल रेसको रुट निर्माण र आन्तरिक तयारीमा जुटेको छ। मन्जुश्री १०० माइल कालु पाँडेबाट शुरु हुनेछ। ५० माइल नगरकोट र ५० किलोमिटर लाकुरी भन्ज्याङबाट सुरु हुनेछ। सबै रेस कालु पाँडेमा आएर सकिनेछन्।

१०० माइल कुद्न चाहने धावकले पहिले कम्तीमा १०० किमी रेस गरेकै हुनुपर्ने मापदण्ड राखिएको छ। त्यसबाहेक घडी र मोबाइलमा रुट हेर्ने, जीपीएस चलाउन सक्ने र रातको समयमा दौडनसक्ने हुनुपर्ने आयोजकले जनाएको छ। 

रेसको प्रवेश दस्तुरका रुपमा १०० माइल एकल तथा रिलेका लागि ५ हजार, ५० माइल र ५० किमी रेसका लागि समान ३–३ हजार रुपैयाँ तोकिएको छ। 

अन्तर्राष्ट्रिय ट्रेल रेस महासंघले नेपालमा हुने रेसमध्ये यस रेसलाई सर्वाधिक ६ अंक दिएको छ। मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामिण जीवनको अनुभव लिन पाइने यो रेस स्वदेशी र विदेशी साहसिक खेल पर्यटकका लागि प्रमुख गन्तव्य बन्न थालेको मिश्रले बताए। 

कालु पाण्डे मार्ग पुगेपछि मनास्लु, गणेश र लाङटाङ हिमाल शृंखलाहरु, ह्वाइट गुम्बा, जामाचो हुँदै नागार्जुन–शिवपुरीको घना जंगल हुँदै धावकहरु दौडिन्छन्। त्यहाँबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिन्छ। 

यो रुटमा दिउँसो दौडेर काठमाडौंका हरेक अग्ला ठाउँबाट हिमालको दृश्यावलोकन गर्न सकिन्छ। राति काठमाडौंको झिलिमिली देख्दा बेग्लै आनन्द आउँछ। त्यसबाहेक ट्रेलमा गाउँघरको जीवनशैली, संस्कृति, जनावर, चराचुरुङ्गी, पर्यटकीय गन्तव्यका रुपमा चिनिने शिवपुरी पिक, फुल्चोकी, नगरकोट, चन्द्रागिरिलगायत स्थानहरु हेर्दै अघि बढ्न सकिन्छ। 

मञ्जुश्री काठमाडौँको ऐतिहासिक विषयसँग जोडिएको नाम हो। पहिले काठमाडौं उपत्यकामा रहेको पानीलाई मञ्जुश्रीले बगाएर बस्न योग्य बनाएको विश्वास गरिन्छ। 

मन्जुश्रीले काठमाडौंको पानी बगाउँदा उनी हिँडेको भाग ट्रेलले छुने भएकाले यसको नाम मन्जुश्री ट्रेल राखिएको हो। ऐतिहासिकतालाई जीवन्त राख्नलाई यो नाम दिइएको आशिषले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad