करण केसीले अलराउण्ड प्रदर्शन गरेपछि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंकन पुलिस क्लबमाथि १४४ रनको सानदार जित हात पारेको छ।
नेपालले दिएको ३३१ रनको लक्ष्य पछ्याएको श्रीलंकन पुलिस ३६.५ ओभरमा सबै विकेट गुमाएर १८७ रनमा समेटियो।
श्रीलंकन पुलिसलाई सो स्कोरमा रोकन्न करण केसीले ४ विकेट लिए। यस्तै सागर ढकाल र सन्दीप लामिछानेले समान २-२ र कमलसिंह ऐरीले १ विकेट लिए।
त्यसअघि चार खेलाडीले अर्धशतक बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३१ रन जोडेको थियो।
नेपालका लागि रोहित पौडेलले ७२, कुशल भुर्तेलले ५७, करण केसीले नटआउट ५३, आसिफ सेखले ५२ रनको अर्धशतकीय पारी खेले।
त्यसबाहेक आरिफ सेखले ३५ रन बनाउँदा विनोद भण्डारी र पवन सर्राफ समान ३-३ र भीम सार्की २ रनमा आउट भए। यस्तै कमलसिंह ऐरीले ४५ रनको नटआउट पारी खेले।
संयुक्त अरब इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग–२ को अन्तिम तयारीका लागि नेपाली टोली यतिबेला श्रीलंकामा अभ्यास खेलहरु खेल्दैछ।
यसअघि श्रीलंकन नेभीविरुद्ध भएका दुई अभ्यास खेलमा पनि नेपालले जित हात पारेको थियो।
अभ्यास खेलपछि विश्वकप लिग–२ मा सहभागिताका लागि मार्च १४ मा नेपाली टोली यूएई पुग्नेछ। नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्नेछ।
Shares
प्रतिक्रिया