माउन्ट ग्लोरी स्कुल र सामाखुसी इङ्ग्लिस बोर्डिङ स्कुल (सेब) समूह विजेताका रुपमा न्यू एरा कप अन्तरविद्यालय फुटसल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन्।
माउन्ट ग्लोरी समूह ‘डी’ र सेव समूह ‘एफ’ को विजेताको रुपमा प्री क्वार्टर फाइनलमा पुगेको हो।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बुधबार भएको खेलमा समूह चरणमा सेबले स्वस्तिश्री गुरुकुललाई २–१ ले तथा मनास्लु इङ्ग्लिस बोर्डिङ स्कुलमाथि ५–० को फराकिलो जित निकाल्दै समुह विजेता बनेको हो।
त्यही समूहबाट स्वस्तिश्री उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। मनास्लु भने समुह चरणबाटै बाहिरियो।
आजै भएको समूह ‘डी को खेलमा माउन्ट ग्लोरीले काठमाडौं लिंकनलाई ५–१ ले तथा पृथ्वी बोर्डिङ स्कुललाई ३–० ले हरायो। यो समूहबाट काठमाडौं लिंकन उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।
यस्तै समूह ‘ए’ बाट प्रगति बोर्डिङ स्कुल समूह विजेता र एन्जल्स हार्ट सेकेन्डरी स्कुल उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ।
प्रगतिले आयोजक न्यु एरा ‘ए’ लाई ३–० ले तथा एन्जल्स हार्टलाई २–१ ले पाखा लगायो। उपविजेता एन्जल्स हार्टले आयोजक न्यू एरालाई २–० ले हरायो।
समूह ‘सी’ बाट सेक्रेट हार्ट र विभूतिले अन्तिम १६ मा स्थान बनाए। समुह चरणमा तिनै टोलीको समान ३ अंक भएपनि गोलअन्तरमा चिल्ड्रेन हेराल्ड बाहिरिएको आयोजकले बतायो।
न्यू इरा एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा २५ स्कुल सहभागी छन्। प्रतियोगितामा बिहीबार लिग चरणका अन्तिम खेल हुनेछ।
Shares

प्रतिक्रिया