नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित सात खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट लिगको अक्सन ड्राफ्टमा परेका छन्। पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा निर्वतमान कप्तान पारससहित आरिफ शेख, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सोमपाल कामी र शरद भेषवाकर रहेका छन्।
पीएसएलको ड्राफ्टमा सबै खेलाडी सिल्भर श्रेणीमा परेका हुन्। सिल्भरमा परेका खेलाडीको न्युनतम मुल्य १५ हजार अमेरिकी डलर देखि अधिकतम मूल्य ३५ हजार डलर रहेको छ।
यसअघि नै नेपालका अर्का युवा लेग स्पिनर सन्दीप लामिछाने ड्राफ्टको ‘प्लाटिनम’ श्रेणीमा परेका थिए। प्लाटिनम श्रेणीको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर देखि अधिकतम २ लाख १८ हजार डलर रहेको छ।
ड्राफ्टमा डिसेम्बरको पहिलो साता हुने पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ। प्रतियोगितामा एक टिमले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्।
पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्गस, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्ने छन्।
प्रतिक्रिया