नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शुक्रबार खेलाडी किनबेच (अक्सन) हुँदै छ।
यो पटकको अक्सनमा १० टोलीले खेलाडीमाथि बोली लगाउने छन्। अक्सनका लागि २ सय ४२ जना खेलाडीले नाम दर्ता गराएका छन्। खेलाडीहरुलाई तिन श्रेणीमा विभाजन गरिएको छ।
क्याटोगोरी ए मा ४० जना खेलाडीले नाम दर्ता गराएका छन्। क्याटोगोरी बी र सी मा समान १०१ खेलाडीले नाम दर्ता गराएका छन्।
एनएसएलमा सहभागी हुने टोलीले १४–१४ जना खेलाडी अनुबन्ध गर्नेछन्। त्यो बाहेक ३ विदेशी खेलाडी र दुई स्थानीय खेलाडीलाई अनुबन्ध गर्नुपर्ने हुन्छ।
अक्सनबाट गत सिजन ८ खेलाडीले सर्वाधिक २ लाख रुपैयाँ पाएका थिए।
आगामी चैत २६ बाट शुरु हुने भनिएको एनएसएलमा सहभागी टोलीहरुले मार्की खेलाडी घोषणा गरिरहेका छन्।
यसअघि झापा एफसीले अन्जन विष्टलाई मार्की खेलाडी घोषणा गरिसकेको छ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएलमा धनगढी, काठमाडौं रेजर्स, विराटनगर सिटी फुटबल क्लब, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेचीले स्पर्धा गर्नेछन्।
गतवर्ष दशरथ रंगशालामा मात्र भएको एनएसएल यो पटक पोखरा रंगशालामा पनि हुनेछ।
गत संस्करण ७ टोलीले स्पर्धा गरेको एनएसएलमा यो पटक झापा, वीरगञ्ज र इलाम नयाँ टोलीका रुपमा थपिएका हुन्।
Shares

प्रतिक्रिया