अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक यूईएफएले रुसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्धको निर्णय गरेका छन्।
रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर फुटबल नियामकले यस्तो प्रतिबन्ध लगाएका हुन्।
नियामकहरुले अर्को सूचना नआउँदासम्मको लागि यो प्रतिबन्ध कायम रहने उल्लेख गरेका छन्।
यससँगै रुसको पुरुष फुटबल टोलीले आगामी महिनामा हुने विश्वकप छनोटको प्ले अफ खेल्न पाउनेछैन। महिला टोलीलाई आगामी गर्मीयाममा हुने युरो कम्पिटिसनबाट रोक लगाइएको छ।
त्यस्तै स्पार्तक मस्को क्लब युरोपा लिगबाट बाहिरिएको छ। अन्तिम १६ को खेलअघि गरिएको यो निर्णयले उसको विपक्षी आरबी लेइपजिग क्वार्टरफाइनलमा पुगेको छ।
यूईएफएले रुसी ऊर्जा कम्पनी गाजप्रोमसँगको प्रायोजन सम्झौता तोडेको छ।
फिफा र यूईएफएले संयुक्त विज्ञप्ति जारी गर्दै फुटबल अहिले पूर्ण संगठित रहेको र युक्रेनका मानिसहरुप्रति पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गरेका छन्।
यसअघि फिफाले रुसको राष्ट्रिय झण्डा र राष्ट्रिय गीत विना नै रुसको टोलीलाई खेल्न दिने निर्णय गरेको थियो तर केही मुलुकले यो निर्णय पर्याप्त नभएको भन्दै रुससँग फुटबल नखेल्ने घोषणा गरेका थिए।
Shares
प्रतिक्रिया