नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को मिडिया अधिकार भारतको नक्षत्र न्युज मिडिया भेन्चर (एन के) मिडिया प्रालिले खरिद गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप) आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै नक्षत्रसँग सम्झौता गरेको हो। सम्झौता अनुसार सबै २७ खेलकै प्रत्यक्ष प्रशारण गर्ने एनके मिडियाले आठ करोड रूपैयाँमा राखेपलाई दिने भएको छ।
सम्झौतापछि अब नेपालको एकमात्र सरकारी च्यानल नेपाल टेलिभिजनले पनि एनके मिडियाबाटै टाईअप गरेर खेलको प्रसारण गर्नेछ। काठमाडौं, पोखरा र जनकपुरमा हुने सागका खेलहरु प्रत्यक्ष प्रशारणका लागि कम्तीमा १ सय ५० देखि २ सय वटा क्यामराहरु नक्षत्र न्यूजले प्रयोग गर्ने सम्झौतामा उल्लेख छ।
नक्षत्रका प्रभातसञ्जन मल्लिकका अनुसार खेलको प्रत्यक्ष प्रसारण गर्न लाग्ने बारेमा अध्ययन कै क्रममा रहेको उनको भनाई छ। यो बाहेक प्रतियोगिताकालागि विज्ञापन वापत आएको रकम पनि आधा आधा गरिने राखेपका सदस्य सचिव रमेशकुमार शिलवालले जानकारी दिए।
सागलाई अन्तर्रा्ष्ट्रिय रुपमा लैजान मार्केटिङको जिम्मेवारी भने फिस्कल एजेन्टले पाएको छ। एजेन्टका प्रियानाथ चटोपाध्यायले सागलाई सफल बनाउन आफुहरु लागि परेको बताए।
नेपाल भ्रमण वर्षलाई पनि मध्यनजर गर्दै सागको प्रचारप्रसार गरिने परिषद्का सदस्यचिव शिलवालले बताए। नेपालका मिडिया हाउससँग आफुहरुले छलफल गर्दा पर्याप्त श्रोतसाधनको अभावकै कारण भारतीय कम्पनीसँग सम्झौता गरिएको सिलवालले दाबी गरे।
साग मंसिर १४ देखि २५ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुँदै छ। सात देशका करिब ३ हजार खेलाडीले २७ खेलमा प्रतिस्पर्धा गर्दै छन्।
यो पनि: सागमा इतिहासकै सर्वाधिक स्वर्ण जित्ने नेपालको लक्ष्य

प्रतिक्रिया