खेल


‘यो अन्त्य होइन, सुरुवात मात्रै हो, नेपाली क्रिकेट माथिल्लो स्तरमा पुग्नेछ’

‘यो अन्त्य होइन, सुरुवात मात्रै हो, नेपाली क्रिकेट माथिल्लो स्तरमा पुग्नेछ’

विमानस्थलमा फर्कदै नेपाली टोली। तस्बिर: विक्रम राई


यज्ञराज जोशी
फागुन १३, २०७८ शुक्रबार २१:५५, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले आईसीसी टी २० ग्लोबल छनोटबाट टोली एकजुट भएर फर्केको बताएका छन्। यो प्रतियोगिताकै मुख्य उपलब्धि भएको बताए।

ग्लोबल छनोटमा तेस्रो भएर शुक्रबार राति स्वदेश फर्कने क्रममा प्रशिक्षक दासानायकेले भने, ‘म नेपाल आउँदा टिममा एकता थिएन। यहाँ केही इस्युहरु थिए। अहिले सबै थोक राम्रो भएर आएको छ। सबैजनाले राष्ट्रिय टोलीका लागि आफ्नो बेस्ट दिनेमा ध्यान दिएका छन्।’

साढे दुई महिनाअघि दोस्रोपटक दासानायके नेपाली टोलीको मुख्य प्रशिक्षक बनेर नेपाल आएका थिए। त्यसबेला नेपाल क्रिकेट संघ(क्यान)ले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित बलरहरु सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारबाही गरेको थियो। ज्ञानेन्द्र र दीपेन्द्रलाई पदबाट हटाएको क्यानले सबै जनालाई ६ महिना केन्द्रीय सम्झौताबाट पनि अलग राख्ने निर्णय गरेपछि नेपाली क्रिकेट तरंगित बनेको थियो। 

त्यहीबेला क्यानले ज्ञानेन्द्रको स्थानमा सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो। 

उक्त घटनापछि खेलाडीहरु ‘मलाई पुग्यो’ भन्दै क्यानको निर्णयविरुद्ध उभिएका थिए। आधा खेलाडीहरुले ग्लोबल छनोटका लागि बन्द प्रशिक्षण समेत बहिष्कार गरेपछि नेपाली क्रिकेटमा संकट देखिएको थियो। 

त्यहीबीच टोली सम्हाल्न आएका दासानायाकेले क्यान र खेलाडीहरुबीच मध्यस्थताको भूमिका समेत निर्वाह गरेका थिए। पछि क्यानले खेलाडीहरुमाथि गरेको कारबाही फिर्ता लिनेभएपछि खेलाडीहरु पनि बन्द प्रशिक्षणमा फर्किएका थिए। 

बन्द प्रशिक्षणमा आएका र नआएका खेलाडीहरुबीच देखिएको विभाजनको रेखा यसपल्ट ग्लोबल छनोटबाट फर्कँदा मेटिएको विश्वास दासानायकेले व्यक्त गरेका हुन्। 

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान गएको नेपाली टोलीले पाँचमध्ये चार खेल जिते पनि सेमिफाइनलमा यूएईसँग पराजित भएपछि विश्वकपमा छनोट हुन असफल भएको थियो। 

दासानायकेले ओमानमा समग्रमा नेपाली टोलीले राम्रो क्रिकेट खेले पनि यूएईले भने नेपालको बलियो पक्षमै आक्रमण गरेको बताए। 

‘ओमानमा रहेका १५–१६ दिन हामीले क्वालिटी क्रिकेट खेल्यौं। एउटा खेलमा हामीले राम्रो गर्न सकेनौं,’ उनले भने, ‘यूएईले निकै राम्रो खेल्यो। हाम्रो बलियो पक्ष (बलिङ)मै यूएईले आक्रमण गर्यो र हामीलाई प्रतियोगिताबाट बाहिरको बाटो देखायो। यो छनोटको फर्म्याटमा एउटा पनि गल्ती गर्ने ठाउँ थिएन। हामीले सही मौकामा राम्रो गर्न सकेनौं।’

प्रशिक्षक दासानायकेले नेपालले बलिङ र फिल्डिङमा निकै राम्रो गरेपनि ब्याटिङमा अझै सुधार गर्नुपर्ने औँल्याए। 

‘बलरबाट म खुसी छु। एकदुई वटा महत्वपूर्ण क्याच छोडेपनि फिल्डिङ राम्रै भयो। तर ब्याटिङमा हामीले धेरै सुधार गर्नुपर्नेछ,’ उनले भने,  ‘सबै युवा खेलाडीहरु प्रतिभावान् छन। उनीहरुले यस लेभलमा अझै क्रिकेट खेल्नु जरुरी छ। केही समय लाग्ला ब्याटरहरुले अझै राम्रो गर्नेमा म विश्वस्त छु।’ 

शरद भेषावकर, करण केसीलगायत मुख्य खेलाडी घाइते भएका कारण पनि नेपाली टोलीमा समस्या देखिएको उनले बताए। 

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले लक्ष्य नभेट्टाए पनि नेपाली टोली लक्ष्यको एकदमै नजिक पुगेको प्रतिक्रिया दिए। 

‘लक्ष्य नभेटाएपनि हामी लक्ष्यको एकदमै नजिक रह्यौं। यो एकदमै युवा टोली भएकाले हामीले राम्रो सुरुवात गरेका छौं,’ उनले भने,  ‘यो भविष्यका लागि यो एकदमै राम्रो संकेत हो। खेलाडीहरुले देखाएको प्रदर्शनमा एकदमै गर्व गर्छु।’

सन्दीपले वास्तवमै राम्रो क्रिकेट खेल्दाखेल्दै पनि एकदिनको खराब प्रदर्शनले हार बेहोर्नुपरेको बताए। 

‘हामीले वास्तवमै राम्रो खेलेका थियौं। पाँचमध्ये चार खेल जित्यौं। एउटा खराब दिन हामीलाई भारी पर्यो,’ उनले भने, ‘यो अन्त्य होइन। युवाहरुले प्रदर्शन गर्न, जिम्मेवारी लिन थालेका छन्। यहाँबाट नेपाली क्रिकेट माथिभन्दा माथि जानेछ। यो नेपाली क्रिकेटको राम्रो स्तरमा पुग्नका लागि सुरुवात मात्रै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .