संकटा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा पाँचौ जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको १२ औँ चरणको अन्तिम खेलमा संकटा क्लबलाई ३–१ ले पराजित गर्दै आर्मीले लिगमा पाँचौँ जित निकालेको हो।
जितसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीले लिगका १२ खेलमा ५ खेलमा जित, ७ मा बराबरीको नतिजा नतिजा निकालेको छ। लिग विजेता मछिन्द्र फुटबल क्लब र आर्मी मात्र अपराजित टोली हुन्।
खेलको पहिलो हाफमा संकटा क्लबले सुरुवाती अग्रता बनाएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन नसक्दा लिगमा तेस्रो हार व्यहोरेको हो।
खेलको १५ मिनेटमा संकटाका उत्तम राईले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३२ औँ मिनेटमा आर्मीका जगजित श्रेष्ठको फ्रीकीक प्रहार गोलरक्षकले पन्च गर्दै बचाए।
खेलको ६१ औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ७४ औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
८६ औँ मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्र्मीको अग्रता फराकिलो पारे।
जितसँगै आर्मीले १२ खेलबाट २२ अंक बनाएको छ। पराजित संकटा १५ अंकमा सातौँ स्थानमा यथावत छ।
Shares

प्रतिक्रिया