ad ad

खेल


सुदूरपश्चिम र एपीएफको विजयी सुरुवात

सुदूरपश्चिम र एपीएफको विजयी सुरुवात

नेपालखबर
फागुन १०, २०७८ मंगलबार १७:०, काठमाडौँ

ललितपुर मेयर्स महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन्। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले ललितपुर मेयर एघार महिला टोलीलाई ५८ रनले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको ललितपुरले निर्धारित २० ओभरमा ८५ रन मात्र बनाउन सक्यो। 

ललितपुरका लागि कप्तान सरस्वती कुमारीले बनाएको २६ रन नै सर्वाधिक रह्यो। सना प्रविन र कञ्चन श्रेष्ठले १० रन थप्दा अन्य ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

ललितपुरलाई कम स्कोरमा रोक्न लक्ष्मी साउदले ३ तथा सविता कुँवरले दुई विकेट लिए। सम्झना खड्का र इश्वरी विष्टको नाममा एक एक विकेट रह्यो। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रनको योगफल तयार पारेको थियो। ओपनर रेवती धामी र विन्दु रावलले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे। बिन्दु २८ रनमा बोल्ड आउट भइन्। रेवती २८ रनमा पवेलियन फर्किइन्। 

कप्तान रितु कनौनियाले सर्वाधिक ४२ रनको योगदान दिइन्। खेलको प्लेयर अफ दि म्याच समेत बनेकी रितुले २९ बलमा ६ चौका प्रहार गरिन्। डली भट्टले २५ रन थपिन्। 

कविता जोशी, कविता कुँवर र शोभा रोकायाले दोहोरो अंक छुन सकेनन्। 

ललितपुरका खुसी डंगोलले २ तथा अनुराधा चौधरी र आरती विडारीले समान १ विकेट आफ्नो नाममा गरे। 

आजै भएको अर्को खेलमा साविक विजेता एपीएफले प्रदेश १ लाई ६ विकेटले हराउँदै जितको सुरुवात गरेको हो। प्रदेश १ ले दिएको ५८ रनको झिनो लक्ष्य एपीएफले ११ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। 

एपीएफको जितमा ज्योती पाण्डेले २३ रन जोडिन्। रोमा थापा १५ र ममता चौथरी २ रनमा नटआउट रहे। काजमती ऐरी ४, कप्तान सीता रानामगर २ रनमा आउट भए। 

प्रदेश १ का सवनम राईले २ तथा हेरमायी रोय र रुविना चौधरीले समान १ विकेट लिए। 

त्यसअघि सोही मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ५७ रनको योगफल तयार पारेको थियो। 

प्रदेश १ का लागि सवनम राईले १६ रन जोडिन्। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

प्रदेश १ लाई कम स्कोरमा रोक्न एपीएफका करुणा भण्डारीले ३ तथा राजमति ऐरिले २ विकेट लिए। रेखा रावल र सुमन विष्टले एक एक विकेट झारे। 

प्रतियोगितामा प्रदेश एक, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, नेपाल एपिएफ क्लब र ललितपुर मेयर ११ गरि पाँच टोली सहभागी छन्। प्रतियोगिताका शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .