बितेको ६ वर्षयता एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता बाहेक आज हुने यूएईविरुद्धको खेल सबैभन्दा महत्वपूर्णमध्येको एक हो। एउटा खेलले हाम्रो विश्वकपमा छनोट हुने सपना दाउमा छ। आशा गरौं, जुन प्रकारको लय छनोटमा नेपालले देखाइरहेको छ, त्यसलाई (आजको खेलमा) निरन्तरता दिन सकोस्।
यूएईले पछिल्लो समयमा एकदमै राम्रो पनि खेलिरहेको छ। चारदेशीय प्रतियोगितादेखि नै उनीहरु लयमा देखिएका छन्। तर बहराइनले उनीहरुलाई पनि हराउन सकिन्छ भनेर देखाइसक्यो। अरु टिमसँगको प्रदर्शन हेर्ने हो भने पनि उनीहरु राम्रो टोली हुन्। यद्यपि हाम्रो टिममा जुन अहिले बलिङ र फिल्डिङ चलेको छ, त्यो आधारमा हाम्रो टिम पनि राम्रो छ।
त्यसैले यो खेल दुईवटा लयमा रहेका टोलीबीचको प्रतिस्पर्धा हो। जुन टिमले आफ्नो धैर्यता कायम राख्न सक्छ त्यो टिममाथि आउँछ।
यहाँ बसेर कति रनको लक्ष्य दिने भन्ने आकलन गर्न उपयुक्त हुँदैन। विकेट, मैदानको अवस्थाबारे यथार्थ जानकारीसहित नभएसम्म भन्न गाह्रो हुन्छ। यस्ता खेलमा रन भन्दा पनि मनोबल कति छ भन्ने कुरा महत्पूर्ण हुन्छ। योजनाअनुसारको खेल हुन्छ कि हुँदैन भन्ने महत्वपूर्ण हुन्छ। हामीले ११७ मा ओमानलाई हराउँछौं भनेर कसैले कल्पना पनि गरेको थिएन। तर, हामीले लक्ष्यको रक्षा गर्न सक्यौं। यसले पनि योजना कार्यान्वयनमा हामी कति प्रभावकारी हुन्छौं भन्ने कुराले महत्वपूर्ण खेल्छ भन्ने देखाउँछ।
आजको खेल दबाबपूर्ण खेल हो। यसलाई जसले राम्ररी झेल्न सक्यो, त्यो टिमलाई खेल जित्न सजिलो हुन्छ। हाम्रा खेलाडी यो दबाब धान्न तयार छन। जति पनि खेलाडी छन्, हिजो वा आजै आएका होइनन्। उनीहरुले नियमित क्रिकेट खेलिरहेका छन्। अनुभवी पनि छन्, विवेक यादव, लोकेश बमले यू–१९ क्रिकेट खेलिरहेका छन्।
समग्रमा हेर्ने हो भने उनीहरु यो लेभलमा दबाब झेल्न सक्षम छन्।
रनको पछाडि नलागौं। यो रनको खेल मात्रै होइन। सायद कुनै टिमले १२० बनायो भने पनि त्यो भेट्टाउन गाह्रो हुनसक्छ। कुनै टिमले १७० बनायो भने त्यो पनि सजिलै भेट्टाउन सकिन्छ।
दबाबलाई जसले राम्रोसँग सामना गर्यो, त्यही टिमले जित्ने हो। ओपनिङ एकदमै महत्वपूर्ण छ। दुवै ओपनर लयमा छन्। कुशल भुर्तेलको लय महत्वपूर्ण छ। तर, त्यसपछि ज्ञानेन्द्र मल्लले अहिले खासै खेल्न नपाए पनि हामीसँग उनको अनुभव छ। त्यसपछि दीपेन्द्रसिंह ऐरी यस प्रतियोगिताभरि नै लयमा छन्।
हामी त्यही विकेटमा खेल्दैछौँ, जहाँ हामीले दुईवटा खेल जितिसकेका छौं। हिजो खेलेकै विकेटमा खेल्दैछौँ। त्यो विकेटमा त्यति रन बनेको छैन। हामीले त्यो विकेटमा तीनवटा खेल खेल्यौं तीनवटैमा सय कटेको छैन। बलरहरु राम्रो लयमा भएकाले त्यो विकेटको फाइदा हामीलाई हुनेछ।
(टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा आज दिउँसो ३:४५ बजे नेपालले यूएईको सामना गर्दै छ। यो खेल जिते नेपाल आगामी अक्टोबर हुने टी-२० विश्वकपमा छनोट हुनेछ। यूएईविरुद्धको खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दाससँग नेपालखबरका यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित )
Shares

प्रतिक्रिया