चीनको राजधानी सहर बेइजिङमा जारी शीतकालीन ओलम्पिक आइतबारबाट सकिएको छ।
दुई सातासम्म चलेको यो ओलम्पिकमा ३ हजारभन्दा धेरै खेलाडीले भाग लिए। विभिन्न स्थानमा १०९ खेलहरु भए। कूटनीतिक बहिष्कार र कोभिड–१९ को महामारीको बीचमा देखिएको आशंकाबीच चीनले सफलतापूर्वक शीतकालीन ओलम्पिक आयोजना गरेको हो।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले विश्वभरका नेतालाई खेलाडीहरुले दिएको शान्ति र ऐक्यबद्धताको उदाहरणबाट पाठ सिक्न आग्रह गरेका छन्।
उनले भने, ‘ओलम्पिक खेलको एकीकृत शक्ति हामीलाई विभाजित पार्ने शक्तिभन्दा बलियो छ।’
बाचले समग्र विश्व समुदायलाई कोरोना खोप अभियानमा तीव्रता दिन पनि आग्रह गरे।
अहिले विश्व महामारीबाट पार पाउने अवस्थातर्फ बढिरहेको भन्दै बाचले आगामी दिनमा अझै छिटो त्यसतर्फ लम्किनु जरुरी रहेको उल्लेख गरे।
यसपटकको शीतकालीन ओलम्पिकमा नर्वे पहिलो स्थानमा रह्यो। नर्वेले १६ स्वर्ण, ८ रजत र १३ कास्यसहित ३७ पदक प्राप्त गर्यो। दोस्रो स्थानमा रहेको जर्मनीले १२ स्वर्ण, १० रजत र ५ कास्यसहित २७ पदक पायो।
आयोजक चीन तेस्रो स्थानमा रह्यो। चीनले ९ स्वर्ण, ४ रजत र २ कास्यसहित १५ पदक हात पारेको हो।
समग्रमा यो ओलम्पिकमा २७ मुलुकका खेलाडीले पदक जिते।
Shares

प्रतिक्रिया