मछिन्द्र फुटबल क्लबका फरवार्ड मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत शनिबार च्यासल युथ क्लबसँगको खेलमा घाइते भएका मनिष डाँगी आज अस्पतालबाट डिस्चार्ज भएको मछिन्द्रका फिजियो सुरज भुसालले जानकारी दिए।
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार च्यासल युथ क्लबसँगको खेलमा ६६ औं मिनेटमा टाउकोमा चोट लागेपछि उनको ब्लु क्रस अस्पतालमा उपचार भइरहेको थियो।
उनको अवस्था सामान्य रहेकाले डिस्चार्ज भएर घर फर्किएका फिजियो सुरज भुसालले बताए।
टाउकोमा चोट लागेका कारण सम्भवत मनिषले अबका तिन चरणका खेल गुमाउनेछन्।
लिगका बाँकी खेल नखेलाउन आफूले प्रशिक्षकलाई सल्लाह दिने भुसालले बताए। उनको टाउकोमा दुईवटा टाँका लगाइएको छ।
६१ औं मिनेटमा सुनिल बलको स्थानमा मैदान छिरेका मनिष ५ मिनेट पछि नै घाइते भएका थिए। अचेत भई मैदानमा ढलेका मनिष च्यासलका खेलाडी, फिजियो सुरज , एन्फाकी फिजियो नवीना श्रेष्ठको प्रयासपछि होसमा आएका थिए।
Shares
प्रतिक्रिया