इन्ज्युरी समयमा सुमन अर्यालले गरेकोे गोलको मद्दतमा त्रिभुवन आर्मी फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगमा हारबाट जोगिएको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले जावलाखेल युथ क्लबसँग एक एक गोलको बराबरी गर्दै अंक बाँडेको हो।
जावलाखेलले खेलको सुरुवातमा अग्रता जोगाउन नसक्दा आर्मीसँग बराबरी गर्दै अंक बाँड्न बाध्य भयो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।
खेलको ५४ औँ मिनेटमा जावलाखेलले ओनगुना जुनियरको गोलमा सुरुवाती अग्रता बनाएको थियो। रुप बहादुर लामाको ब्याक हिल पासलाई नियन्त्रणमा लिदै ओनगुनाले बललाई पोष्टको जाली चुमाएका थिए।
निर्धारित ९० मिनेटमा १–० ले पछि परेको आर्मीले इन्ज्युरी समयको सातौँ मिनेटमा सुमन अर्यालले बराबरी गोल गर्दै आर्मीलाई हारबाट बचाए।
बराबरीसँगै अपराजित रहेको आर्मी १० खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा यथावत छ। समान खेलबाट ९ अंक जोडेको जावलाखेल ११ औं स्थानमा छ।
Shares
प्रतिक्रिया