नेपाली राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भएका छन्।
कुनैपनि नेपाली खेलाडी आईएसएलमा आवद्ध भएको यो पहिलो पटक हो। अनन्तले खेल्ने पक्का भइसकेपनि अन्तिम सम्झौता हुन भने बाँकी छ।
थ्रीस्टार क्लबबाट घरेलु फुटबल खेलिरहेका अनन्तले आईएसएलको अन्तिम चारवटा खेलमात्रै खेल्नेछन्।
क्लबले शनिबार अनन्तलाई बिदाइ गर्ने कार्यक्रमसमेत राखेको छ।
पछिल्लो चार वर्षमा राष्ट्रिय टोली र २३ वर्ष मुनिकाले जितेका सबै टोलीमा अनन्त महत्वपूर्ण सदस्य हुन्।
युवापुस्ताका उदीयमान खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्टकै ब्याचका एन्फा एकेडेमीका उत्पादन हुन्-अनन्त। चार वर्षअघि स्वदेशमै आयोजना भएको साफ अन्डर–१९ च्याम्पियनसिपमा च्याम्पियन बनेपछि अनन्तले सिनियर टोलीमा स्थान पाएका थिए। त्यसयता उनी टोलीका नियमित सदस्य रहेका छन्।
२०७२ मा बंगबन्धु गोल्डकप, १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण, २०७३ मा एएफसी सोलिडारिटी कप होस् वा यसै वर्ष स्वदेशमा आयोजना गरिएको १३ औं सागमा स्वर्ण जित्दा होस् अनन्त टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन्।
अनन्तले रुस्लान थ्री स्टारका लागि ए डिभिजन लिग खेल्दै आएका छन्। यद्यपि गत महिना चोटको सामना गरेसँगै उनी अहिले रिह्याब गरिरहेका छन्। उनले गत साता दशरथ रंगशालामा भएकाे मौरिससविरुद्धको खेल पनि गुमाएका थिए।
अनन्तले यसअघि स्पेनको मार्बेला युनाइटेडमा पनि प्रशिक्षण गरेका थिए। सुदूरपश्चिम फुटबल क्लबबाट राष्ट्रिय लिग खेल्दै घरेलु फुटबलमा प्रवेश गरेका उनको सन् २०१५ मा साफ यू-१९ च्याम्पियनसिप जित्दा चर्चा सुरु भएको थियो ।
भारतमा आईलिग र आईएसएल गरी दुई शीर्ष डिभिजनका फुटबल हुने गर्छन्।
आईएसएलको सुरुवात २०१३ मा भएको थियो। फ्रेन्चाइज अवधारणामा आधारित प्रतियोगितामा ११ टोलीले सहभागिता छ।
अनन्तले खेल्ने कोलकाताको इस्ट बंगाल टोली भारतीय फुटबलमा पुरानो मध्येको एक क्लब हो। सन् १९२० मै यसको स्थापना भएको थियो। क्लबले २०२० देखि आईएसएल खेल्न लागेको हो।
यो क्लब आईएसएलको जारी सिजनमा १६ खेलबाट १० अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया