ad ad

खेल


बलियो ओमानको सामना गर्दै नेपाल

बलियो ओमानको सामना गर्दै नेपाल

नेपालखबर
माघ २७, २०७८ बिहिबार १७:४४, काठमाडौँ

टी–२० विश्वकपको ग्लोबल छनोट अघि हुन लागेको चार देशीय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार बलियो ओमानसँग खेल्दैछ। 

शृंखलाका लागि बुधबार नै नेपाली टोली ओमान पुगिसकेको छ। बिहीबार स्थानीय माहौलमा अभ्यास गरेको नेपाली टोलीले शुक्रबार ३ बजेर ४५ मिनेटमा ओमानको सामना गर्नेछ। 

विश्वकपको ग्लोबल छनोटको अन्तिम तयारी स्वरुप नेपालले ओमानसहित प्रतियोगिताका बलिया टोलीहरु यूएई र आयरल्याण्डसँग चार देशीय शृंखला खेल्न लागेको हो। 

नेपालले यसअघि २०१९ को अक्टोबरमा पाँच देशीय शृंखलाका क्रममा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो। जसमा ओमानले नेपाललाई ६४ रनमै रोकेको थियो। जवाफमा ११.५ ओभरमा उसले ४ विकेट गुमाएर लक्ष्य भेटायो। उक्त खेलमा नेपालका आरिफ सेख(२०) र दीपेन्द्रसिंह ऐरी(११)बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन। 

यसपल्ट भने युवा खेलाडीले भरिएको नेपाली टोलीमा ब्याटिङ बलियो देखिएको प्रशिक्षक पुबुदु दासानायके बताउँछन। ओमान प्रस्थान गर्नुअघि यसपटक नेपाली टोलीमा पावर हिटिङ ब्याट्सम्यानहरु रहेको पुबुदुले बताएका थिए। 

सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम, सागर ढकाल प्रदीप ऐरी छन्। 


पहिलोपटक नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिन लागेको हो। नेपालले चारदेशीय शृंखलामा राम्रो प्रदर्शन गर्दै विश्वकपको ग्लोबल छनोटका लागि मनोबल उच्च बनाउँने लक्ष्य लिएको छ। 

शृंखलामा नेपालले ओमानपछि माघ २९ गते यूएई र फागुन २ गते नेपालले आयरल्याण्डको सामना गर्दैछ।

चार देशीय शृंखला खेल्ने टोलीहरु ग्लोबल छनोट खेल्ने बलिया टोलीहरु भएकाले प्रशिक्षक पुबुदु दासानायके नेपालले क्षमता जाच्ने अवसरका रुपमा शृंखलाको सदुपयोग गर्ने बताएका छन। 

‘हामी प्रतियोगितामा उपलब्ध सबैभन्दा राम्रा टोलीसँग खेल्दैछौं। हामी के हौं र हाम्रो सामर्थ कति छ भन्ने कुरा यसबाट थाहा हुनेछ,’ दासानायकेले भन्छन्, ‘हामीसँग विभिन्न योजनाहरु छन। कुन उपर्युक्त हुन्छ र कुन योजनाका लागि को खेलाडी उपर्युक्त हुन्छ पनि हेर्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .