रवि शंकर पासवानको दुई गोलमा नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ता गरेको छ।
दशरथ रंगशालामा बुधबार भएको नवौँ चरणको खेलमा पुलिस क्लबले च्यासल युथ क्लबलाई २–१ अन्तरले हराएको हो।
खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको पुलिसले दोस्रो हाफमा १ गोल थप्यो।
रविले खेलको ३७ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ५३ औँ मिनेटमा च्यासलले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्यायो। च्यासलका मौसा एवांगाले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। रुमेश बर्तौलालाई पेनाल्टी बक्समा लडाएपछि च्यासलले पेनाल्टीको मौका पाएको थियो।
तर ६६ औँ मिनेटमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
जितसँगै ९ खेलबाट १० अंक जोडेको पुलिस क्लब १० औँ स्थानमा उक्लिएको छ। समान अंक भएको एपीएफ गोलअन्तरमा नवौँ स्थानमा यथावत छ।
हारसँगै च्यासलमाथि रेलिगेसनको खतरा बढेको छ। ९ खेलबाट ५ अंक जोडको च्यासल १३ औँ स्थानमा छ।
Shares
प्रतिक्रिया