ad ad

खेल


नेपाली क्रिकेट टोलीको उप-कप्तान को?

नेपाली क्रिकेट टोलीको उप-कप्तान को?

नेपालखबर
माघ २६, २०७८ बुधबार १४:०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोली टी-२० विश्वकपको ग्लोबल छनोट खेल्न बुधबार ओमान पुगिसकेको छ। 

शुक्रबारदेखि ग्लोबल छनोटअघि चार देशीय टी-२० शृंखला खेल्ने नेपाली १७ सदस्यीय  खेलाडी सम्मिलित टोलीमा उपकप्तान छैनन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले गत मंसिर अन्तिममा अनुशासन उल्लंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो। 

त्यसबेला सन्दीपलाई कप्तान नियुक्त गरेको क्यानले उपकप्तानका विषयमा भने केही निर्णय गरेन। 

ग्लोबल छनोटअघि नेपालले शुक्रबारदेखि ओमानमा युएई ओमान र आयरल्याण्ड सम्मिलित चारदेशीय शृंखला खेल्दैछ। 
चारदेशीय शृंखला आउन २ दिन बाँकी हुँदा नेपाली टोलीको उपकप्तान नियुक्त हुन सकेको छैन।

नेपाली टोलीका पूर्व प्रशिक्षक जगत टमटा कप्तानको अनुपस्थितिमा उपकप्तानले टोलीको जिम्मेवारी सम्हाल्ने भएकाले उपकप्तान नियुक्तिमा ध्यान पुर्‍याउनुपर्ने उनले बताए। 

उपकप्तान नियुक्तिको जिम्मेवारी क्यानको भएकाले उसले नै निर्णय लिनुपर्ने उनको भनाइ छ। ‘कप्तानलाई केही भयो भने टोलीको जिम्मेवारी उपकप्तानको हुन्छ। उसले योजनाअनुसार टोलीलाई अघि बढाएर कप्तानलाई सहयोग पनि पुर्‍याउँछ', टमटाले भने, 'उपकप्तान नियुक्त गर्ने जिम्मेवारी क्यानको हो। उसले निर्णय लिनुपर्छ। 

टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, पूर्व उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि टोलीमा भएकाले आवश्यक परेका बेला उनीहरुले टोलीलाई सम्हाल्न सक्ने बताए।   

क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले प्रशिक्षक र टोली व्यवस्थापकलाई नै उपकप्तान नियुक्तिको जिम्मेवारी दिइएको बताएका छन्। 

'अहिले को उपकप्तान भनेर हामीले तय गरेका छैनौँ,' उनले भने, 'प्रशिक्षक र व्यवस्थापकलाई त्यसको जिम्मेवारी दिइएको छ। आवश्यक परेमा उहाँहरूसँग नियुक्त गर्ने अधिकार छ।'

उपकप्तानका लागि टोलीमा कारबाहीमा परेका दीपेन्द्रसहित आरिफ सेख, कुशल भुर्तेललगायत खेलाडीको सम्भावना बढी छ। 

'हामीले दीपेन्द्रलाई भविष्यमा उपकप्तान हुन सक्दैन भनेर कारबाही गरेको होइन। तत्काल अनुशासन उल्लंघन गरेकाले गरेको कारबाही हो,' क्यान कार्यवहाक सचिव मल्लले भने, 'टोलीमा ७-८ जना उपयुक्त उम्मेदवार छन। प्रशिक्षक र व्यवस्थापकले आवश्यकता अनुसार नियुक्त गर्नेछन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .