ad ad

खेल


रियल म्याड्रिड र बार्सिलोना विजयी

रियल म्याड्रिड र बार्सिलोना विजयी

नेपालखबर
माघ २४, २०७८ सोमबार १४:४१, काठमाडौँ

स्पेनिस ला लिगामा शीर्ष टोली रियल म्याड्रिड र बार्सिलोना विजयी भएको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले ग्रानाडामाथि १–० गोलको कठिन जित निकालेको हो। अर्को खेलमा १० खेलाडीमा सीमित बार्सिलोनाले साविक विजेता एट्लेटिको म्याड्रिडलाई ४–२ गोलले स्तब्ध बनायो।

रियलको जितमा मार्काे असेन्सियोको निर्णायक गोल गरे। मार्कोले ७४औं मिनेटमा इडर मिलिटाओको पासमा गोल गरेका थिए। ६६ प्रतिशत बल पोसेसन राखेको रियललाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो। रियलको लगातार प्रयासमा ग्रानाडाका गोलरक्षक लुइस म्याक्सिमियानो बाधक बनेका थिए। निर्णायक गोल गरेका रियलका मार्काे असेन्सियो ‘म्यान अफ दि म्याच’ भए।

जितसँगै रियलले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ। रियको २३ खेलबाट ५३ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको सेभियाको ४७ अंक छ। पराजित ग्रानाडा २४ अंक सहित १६औं स्थानमा छ।

यसैगरी घरेलु मैदानमा बार्सिलोनालाई जिताउन जोडी आल्बा, गाभी, रोनाल्ड अरुजो र डानी आल्भेसले गोल गरे। एट्लेटिकोका यानिक कारास्को र लुईस स्वारेजले गोल गरे। खेलमा सुरुवाती अग्रता एट्लेटिकोले लिएको थियो। आठौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै पाहुना टोलीको उत्साह जगाए। तर एट्लेटिकोको अग्रता दुई मिनेट पनि टिकेन। १०औं मिनेटमा जोर्डी आल्बाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

२१औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए। ४३औं मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दै बार्सिलोनालाई थप बलियो बनाए। ४९औं मिनेटमा आल्भेसले गोल गरेपछि बार्सिलोना सहज जिततर्फ अग्रसर बनेको थियो। ५८औं मिनेटमा स्वारेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे। ६९औं मिनेटमा आल्भेस रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो। तर एट्लेटिकोले त्यसको फाइदा उठाउन सकेन।

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ। पराजित एट्लेटिको ३६ अंक सहित पाँचौँ स्थानमा छ। तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० अंक छ। आइतबार रातिनै घरेलु मैदानमा भएको खेलमा बेटिस भिल्लरियलसँग २–० गोलले पराजित भएको छ । जितसँगै ३५ अंक बनाएको भिल्लारियल छैटौँ स्थानमा उक्लिएको छ। अर्को खेलमा भ्यालेन्सिया र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ। हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो। ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भइरहेको छ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ। हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिशहोमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .