राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गरेका छन्।
बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गरेका हुन्।
परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन्।
ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत ५ महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताए। राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलताकाे निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको उनले बताए।
कुँवरले भने, ‘विगत ४/५ महिनादेखि परिषद्को बैठक बस्न नसकेर अन्योलता छाएको छ। त्यसको निकासको निम्ति हामीले सबै साथीहरु मिलेर युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग यसको निकास मागेका थियौँ। तर उहाँले भेट्न चाहनुभएन। बोर्डको बैठक छिटो भन्दा छिटो बोलाइयोस् भनेर अनुरोध गरेका छौँ। लिखित रुपमा निवेदन पनि दिएका छौँ। उहाँको भनाइ अनुसार अहिलेको अवस्थामा सदस्य सचिव नभएकोले गाह्रो छ भन्नुभएको छ। तर ऐनअनुसार हामीले बुझेको उपाध्यक्ष बिना पनि बोर्डको बैठक बसाउन सक्नुहुन्छ। हामीले खेल र खेलाडीको लागि, खेलकुद परिषद् भित्रको अन्योलताको निकासको निम्ति आह्वान गरेका छौँ।’
त्यस्तै, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुदमन्त्रीको अकर्मण्यता भएको आरोप लगाए।
उनले राखेपले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिङ्ग भइरहेको बताए। उनले खेलाडी र खेलमा राजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गरे।
अध्यक्ष पौडेलले भने, ‘राष्ट्रिय खेलकुद परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति छ। खेल क्षेत्रमा नवौं राष्ट्रिय खेलकुद गर्नुपर्ने मन्त्री अकर्मण्यताका कारणले गर्दा लथालिङ्ग छ। उहाँले सदस्य सचिव हटाउनु भयो। त्यो भएको कारणले बोर्डका सबै सदस्यहरुले छिटो बैठक बस्न माग गरिएको हो। मन्त्रीले भेट्न चाहनुभएको छैन। यहाँ दर्ता गरेर तत्काल बैठक बोलाइयोस् भन्ने माग हो। खेलकुदलाई दर्बिलो बनाउन खेलमा राजनीति नगर्न मन्त्रीज्यूलाई आग्रह गर्दछौँ।’
अध्यक्ष पौडेलले खेल क्षेत्रमा छाएको अन्योलताको निकासका निम्ति राष्ट्रिय खेलकुद महासंघका सदस्यहरुले युवा तथा खेलकुद मन्त्रीलाई भेट्ने समय मागेपनि भेट्न मन्त्री गहतराजले नभेटेको बताए।
उनले खेलकुदमन्त्रीको यस्तो व्यवहारले खेलाडीहरुको आत्मबल घट्दै गएको पनि बताए।
Shares

प्रतिक्रिया