वुमा खुला कराँते कासेगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ। काठमाडौमा मंगलबार सम्पन्न प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै च्याम्पियन बनेको हो। मानसिंह डोजे भने ४ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जितेर दोस्रो हुँदा ३ स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भयो।
पुरुषतर्फ ३० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी मानसिंहकी सविना तामाङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भए। दुवैले समान ८ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए।
प्रतियोगिताको अन्तिम दिन आज ११ स्वर्ण पदकको टुङ्गो लागेको हो। कातातर्फ पुरुषमा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी ईशा वाइबाले स्वर्ण जितिन्।
महिला ४० केजीमुनि तौल समूहमा मानसिंह डोजोकी सविना तामाङले स्वर्ण तथा गोठाटार डोजोकी रोनिशा खड्काले रजत पाइन्।
महिला ४५ केजीमूनि तौलसमूहमा शंखडोलकी अनिता तामाङले तोयोकान एकेडेमीकी शिखा बजगाईंलाई हराएर स्वर्ण जितिन्। साउथ भ्यालीकी नवीना डिम्डुङले महिला ५० केजीमा स्वर्ण जितिन्। उनले फाइनलमा मित्रपार्क डोजोकी सुदीना पाख्रिनलाई पराजित गरेकी हुन्।
महिला ५५ केजीमा शंखडोलकी युनिका राईले नेपाल हायसी–हा एकेडेमीकी निरुता श्रेष्ठलाई हराएर स्वर्ण जितिन्। महिला ६० केजीमा मानसिंहकी प्रविना गुरुङले स्वर्ण जित्ने क्रममा नागार्जुन डोजोकी उर्शला पहारीलाई पराजित गरिन्।
महिला खुलातर्फको स्वर्ण अस्मिता प्रजाले जितिन्। उनी जोरपाटी डोजोकी हुन्। फाइनलमा उनले साउथ भ्यालीकी कोपिला लिम्बुलाई पराजित गरिन्।
पुरुष ५५ केजीमुनि तौलसमूहमा जोरपाटी डोजोका विशाल केसीले स्वर्ण जिते। उनले फाइनलमा मानसिंहका सुदीन सुनारलाई पराजित गरेका हुन्।
पुरुषको ६० केजीतर्फ जोरपाटीका सुजन राईले गोठाटारका राजीव त्रिपाठीलाई हराएर स्वर्ण जिते। पुरुष खुलातर्फ भने गोठाटारका रविन त्रिपाठीले मानसिंहका पारस तामाङलाई पराजित गरी स्वर्ण जिते।
Shares
प्रतिक्रिया