ad ad

खेल


ए डिभिजन लिगमा एपीएफको सकस

ए डिभिजन लिगमा एपीएफको सकस

एपीएफ


लक्ष्मी जि.सी
पुस २५, २०७८ आइतबार १९:२०, काठमाडौँ

जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेलेपछि एपीएफका प्रशिक्षक कुमार थापाले भनेका थिए–‘अबचाहिँ साँच्चै रेलिगेसनबाट जोगिन कठिन भएको छ।’ 

सहिद स्मारक ए डिभिजन लिगमा टोलीको आठौँ चरणको खेलपछि उनी बढी गम्भीर देखिएको यही भनाइले देखाउँछ।  

अंक तालिकामा सँगसँगै जस्तो रहेको जावलाखेललाई हराउन सकेको भए कम्तीमा यो सिजन रेलिगसेन खतरा टर्ने उनको अनुमान थियो। 

एकपछि अर्को खेलमा प्रदर्शन सुधार गर्दै अघि बढेको एपीएफले जावलाखेलसँगको खेलमा अंक बाँड्नु पर्दा थापा बढी निराश देखिन्थे। 

‘हामीले जित्नैपर्ने खेल थियो। प्रदर्शनका हिसाबमा हामीले क्रमिक सुधार पनि गरेका छौँ’, उनले भने, ‘तर जावलाखेलसँगको बराबरीले भने हामीलाई अब रेलिगेसन खतरा बढेको छ। कम्तीमा यो खेल जितेको भए धेरै सहज हुने थियो।’ 

पहिलो पटक ए डिभिजन क्लबको प्रशिक्षण सम्हालेका थापालाई भने जावलाखेका प्रशिक्षक किशोर केसीले कमजोर नसम्झिन सुझाव दिएका थिए। 

उनले भनेकै थिए, ‘कुमार थापा कमजोर प्रशिक्षक होइनन्। एएफसी ए लाइसेन्स गरेका थापाबाट एपीएफले पनि ठूलो आशा गरेर टोलीको मुख्य प्रशिक्षक बनाएको थियो।’ 

दबाबपूर्ण सुरुवात 
थापा आफैँ पनि टोलीले लिगमा दमदार सुरुवात गर्नेमा आशावादी थिए। तर, नतिजा त्यस्तो आएन। 

सुरुवातका ३ खेल गुमाउँदै एपीएफले दबाबका बीच लिगको सुरुवात गरेको थियो। दबाबमा आएको नेपाल एपीएफ फुटबल क्लब पछिल्लो समय भने केही लयमा देखिएको छ। 

चौथो खेलमा पुगेर मात्र टोलीले अंकको खाता खोलेको थियो। ३ चरणको खेलको समाप्तिमा एपीएफ र जावलाखेल अंक तालिकाको पुछारमा थिए। 

तर, आठौँ चरणको समाप्तिमा पुग्दा सुरुवाती दिनभन्दा एपीएफसँगै जावलाखेल पनि केही सहज अवस्थामा छ। तर, टोलीहरु पूर्ण रुपमा सुरक्षित महसुस गर्ने अवस्थामा भने छैनन्। आठौँ चरणको खेल जारी रहँदा एपीएफ ७ अंकमा १०औँ स्थानमा छ। एक अंक बढी जोडेको जावलाखेल नवौँ स्थानमा छ। 

विदेशी खेलाडी आएपछि सुधारियो प्रदर्शन 
सुरुवाती खेलमा लगातारको हारपछि प्रशिक्षक थापाले विभागीय टोलीले पनि विदेशी खेलाडीका लागि पनि ढोका खुला गर्नुपर्नेमा जोड दिएका थिए। 

उनको त्यो भनाइ उनकै विभागीय टोलीमा सुनुवाइ पनि भयो। पछिल्ला ४ खेलयता एपीएफले जापानी गोलकिपरसहित दुई विदेशी खेलाडीलाई उतारेको छ। 

एएफसी क्लब लाइसेन्स प्राप्त गरिसकेपछि त्यसको फाइदा विभागीय टोलीले लिनुपर्ने थापाले बारम्बार भन्ने गरेका थिए। 

विदेशी खेलाडी समावेशपछि टोलीको प्रदर्शनमा केही सुधार पक्कै आएको छ। क्लब लाइसेन्स प्राप्त गर्ने ४ क्लबमध्ये एपीएफ पनि एक हो। 

अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फटबल क्लब पनि लाइसेन्स प्राप्त क्लब हुन्। 

क्लब लाइसेन्स प्राप्त गर्ने टोली भए पनि लिगमा भने एपीएफको उपस्थिति खासै बलियो रहनसकेको छैन। 

थापा कप्तान हुँदा पाँचौँ स्थानमा लिगको अन्त्य गर्नु नै एपीएफको अहिलेसम्मको उच्च प्रदर्शन हो। त्यसबाहेक २०६३ यता लिगमा भाग लिन थालेको एपीएफले अधिकांश लिगमा उच्च प्रदर्शनका लागि संघर्ष गर्दै आएको छ। 

चोटग्रस्त खेलाडीः क्लबलाई पीडा 
टोलीका पहिलो र दोस्रो रोजाइका गोलकिपर घाइते हुनु तथा तेस्रो रोजाइका गोलकिपरको माथिल्लो स्तरको फुटबलमा कम अनुभवले पनि एपीएफको सुरुवात दमदार हुन सकेन। 

पहिलो रोजाइका गोलकिपर राजु योगी चोटग्रस्त भएपछि एपीएफले दोस्रो रोजाइका अमृत चौधरीलाई उतारेको थियो। सातदोबाटो युथ क्लबविरुद्धको खेलमा उनी पनि घाइते भएपछि तेस्रो रोजाइका गोलकिपर उतार्न बाध्य भएको थियो। 

त्यही खेल एपीएफले ४–१ ले गुमाएको थियो। राजु र अृमत फर्कन अझै केही समय लाग्ने भएपछि एपीएफले नेपालमै बस्दै आएका जापानी गोलकिपरको सहारा लिनुपरेको थियो। संयोग नै मान्नुपर्छ उनले पोष्ट सम्हालेको खेलमा नै एपीएफले पहिलो अंक जोडेको थियो। 

जावलाखेलसँग बराबरीपछि प्रशिक्षक थापाले भनेका थिए, ‘हामीलाई खेलभन्दा नतिजा चाहिएको छ। लिगको सुरुवाती नतिजा गुमाउनु नै हाम्रो लागि दुःखद बन्यो। सुरुवातको तीन खेल जितेको भए अहिले अंक तालिकामा माथि हुन्थ्यौँ। पछिल्लो समय सुधारिएको प्रदर्शन गरेका छौँ। तर, हामीले अझै राम्रा टोलीसँग खेल्न बाँकी छ।’ 

१०औँ स्थानमा रहने आशा 
टोलीका व्यवस्थापक विजय केसीले कम्तीमा १० औं स्थानसम्म लिगको अन्त्य गर्नेमा आशावादी छन्। उनले भने, ‘लिगको सुरुवात गर्दा हामी आठौंदेखि चौथो स्थानसम्म पुग्न सक्छौं भन्ने थियो। तर, सुरुवाती खेल गुमाउनु हाम्रो लागि दुर्भाग्य रह्यो।’ 

विदेशी खेलाडी आगमनले पनि टोलीको प्रदर्शन सुधारिएको मान्छन् व्यवस्थापक केसी। 

‘अहिले खेलाडीको पनि मनोबल बढेको छ’, उनले आशावादी हुँदै थपे, ‘रेलिगेसनबाट हामी टाढा रहन्छौं भन्नेमा विश्वस्त छौँ।’ 

नेपालमा अर्का कुनै विदेशी मिडफिल्डर पाएको खण्डमा टोलीमा थप्ने योजना एपीएफको छ। 

‘अहिले कोरोना महामारीको कारण समस्या भइरहेको छ’, केसीले भने, ‘नेपाली फुटबल बुझेको खेलाडी चाहियो त्यही भएर टोलीसँग मिल्ने खेलाडी नै खोजेका छौँ।’

उपाधि दौड र रेलिगेसनबाट जोगिने होडका कारण लिग रोमाञ्चक मोडमा पुगेको छ। अबको ५ चरणको खेलपछि उपाधि विजेता र रेलिगेसनमा पर्ने दुई टोलीको टुंगो लाग्नेछ। 

त्यसबाट जोगिनका लागि एपीएफले कस्तो प्रदर्शन गर्छ र विगतमा जस्तै आफ्नो ए डिभिजन हैसियतलाई कायम राख्न सफल हुन्छ हुँदैन, त्यसका लागि भने केही साता कुर्नैपर्ने हुन्छ। 

जारी लिगमा एपीएफको प्रदर्शन 

  • ब्रिगेड ब्वाइजविरुद्ध एपीएफ ३–२
  • च्यासलविरुद्ध एपीएफ १–०  
  • सातदोबाटोविरुद्ध एपीएफ ४–१
  • थ्रीस्टारविरुद्ध एपीएफ ०–०
  • फ्रेण्ड्सविरुद्ध एपीएफ १–३
  • एनआरटीविरुद्ध एपीएफ ३–३
  • आर्मीविरुद्ध एपीएफ १–१
  • जावलाखेलविरुद्ध एपीएफ ०–०
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .