इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको आ–आफ्नो खेलमा म्यानचेस्टर सिटी र चेल्सीले जित हात पारेका छन्।
म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले पराजित गर्दा चेल्सीले एस्टन भिल्लामाथि ३–१ गोल अन्तरको जित हात पारेको हो।
म्यानचेस्टर सिटीलाई जित दिलाउने क्रममा रहिम स्टर्लिङले दुई गोल गरेका थिए भने अन्य चार खेलाडीले एक/एक गोल गरे।
खेलको पहिलो हाफमा म्यानचेस्टर सिटीले ४–० को अग्रता लिएको थियो। दोस्रो हाफमा म्यानचेस्टर सिटीले दुई गोल थप्दा विपक्षी टोलीले पनि ३ गोल फर्काएको थियो।
अर्को खेलमा आत्मघाती गोलबाट १–० ले पछि परेको चेल्सीलाई जित दिलाउने क्रममा जर्जिन्होले दुई गोल गरे भने रोमेलु लुकाकुले एक गोल गरेका थिए।
यससँगै म्यानचेस्टर सिटी १९ खेलबाट ४७ अंकका साथ लिगको शीर्षस्थानमा छ भने समान खेल खेलेको चेल्सीले ४१ अंक हात पार्दै तेस्रो स्थानमा छ।
दोस्रो स्थानमा रहेको लिभरपुलले भने १८ खेलबाट ४१ अंक हात पारेको छ। आइतबार रातिको लागि तय भएको लिभरपुलको खेल कोरोना संक्रमणको कारण रोकिएको थियो।
Shares
प्रतिक्रिया