वाटफोर्डमाथि जित निकाल्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा घरेलु टोली वाटफोर्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
सिटीको जितमा बर्नाडो सिल्भाले दुई र रहिम स्टर्लिङले एक गोल गरे। पहिलो हाफमा २–० ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल थप्यो।
वाटफोर्डका जुआन हर्नान्डेजले सान्त्वना गोल फर्काए। यो जितसँगै १५ खेलबाट ३५ अंक जोडेको सिटी शीर्ष स्थानमा पुगेको छ।
शनिबार राति नै भएको अर्को खेलमा वुल्भ्सलाई १–० ले हराएको लिभरपुल दोस्रो स्थानमा छ। लिभरपुलले ३४ अंक बनाएको छ।
वेष्ट ह्यामसँग ३–२ ले पराजित भएको चेल्सी तेस्रो स्थानमा झरेको छ। उसले ३३ अंक बनाएको छ।
गएराति नै भएको अर्को खेलमा साउथह्याम्प्टन र ब्राइटनले एक एक गोलको बराबरी गर्दै अंक बाँडे। अर्को खेलमा न्यु क्यासलले भने वर्नलीमाथि १–० को जित दर्ता गरेको छ।
Shares

प्रतिक्रिया