यो सिजन उत्कृष्ट लयमा रहँदै उपाधि यात्रालाई बढाइरहेको चेल्सी शनिबार भएको खेलमा वेस्टह्यामसँग पराजित भएको छ।
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको चेल्सीले वेस्ट ह्याम युनाइटेडसँग ३-२ गोल अन्तरको हार भोगेको हो।
वेस्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा डिफेन्डर थियागो सिल्भाले २८ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिए।
त्यसपछि खेलको ४० औँ मिनेटमा मानुएल लान्जिनीले पेनाल्टीमा गोल गरेपछि वेस्ट ह्यामले खेललाई १-१ गोलको बराबरीमा ल्याए।
तर त्यसको ४ मिनेट नबित्दै चेल्सीका मासन माउन्टले गोल गरेर २-१ को अग्रता दिलाउन सफल भए।
त्यसपछि दोस्रो हाफमा वेस्ट ह्यामले लय समात्यो। उसका लागि खेलको ५६ औँ मिनेटमा जार्रोड बोवेनले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा पुग्यो।
वेस्ट ह्याम त्यतिमै रोकिएन। खेलको ८७ औँ मिनेटमा आर्थुर मासुकाले गोल गरेपछि वेस्ट ह्यामले ३-२ को जित पक्का गर्यो।
यो जितपछि वेस्ट ह्यामले १५ खेलबाट २७ अंक बनाउँदै लिगको चौथो स्थानमा पुगेको छ। पराजित चेल्सी ३३ अंकसहित लिगको शीर्ष स्थानमै छ।
Shares

प्रतिक्रिया