ad ad

खेल


किन विद्रोह गरे रेफ्रीहरूले?

किन विद्रोह गरे रेफ्रीहरूले?

लक्ष्मी जि.सी
मंसिर १८, २०७८ शनिबार १५:२३, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) विभिन्न कारणले विवादमा पर्ने गरेको छ। पदाधिकारीबीचको आन्तरिक विवाद पनि अब एन्फाको पुरानो विषय भइसकेको छ। विभिन्न बहानामा विवादको सिलसिला जारी छ।

पछिल्लोपटक फिफा रेफ्रीहरुले सामूहिक राजीनामा दिएपछि फुटबलमा अर्को विवाद सार्वजनिक भएको छ। नेपाली रेफ्रीहरु गुटबन्दीको शिकार बनेको यसअघि चर्चा हुने गरे पनि रेफ्रीले एन्फा सामूहिक राजीनामा बुझाएको भने यो पहिलोपटक हो। 

राजधानीमा अहिले सहिद स्मारक ए डिभिजन लिग चलिरहेको छ। लिग जारी रहेकै अवस्थामा डिसेम्बर २३ मा रेफ्रीहरुले फिटनेस टेष्ट दिनु एन्फाले बाध्य पारेपछि रेफ्रीहरु सामूहिक राजीनामा गर्ने निर्णय पुगेका थिए। 

फिटनेस टेष्ट गर्न भन्दा पनि जुन तरिकाले बाध्य पारेर भनेकै समयमा फिटनस टेष्ट दिन एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एन्फाका रेफ्री निर्देशक भारतीय गौतम कौरले दबाब दिएपछि रेफ्रीहरुले त्यसलाई अव्यावहारिक भन्दै सामूहिक विद्रोह गरेका हुन्।

एन्फा अध्यक्षलाई अहिले लिग चलिरहेकै अवस्थामा फिटनेस टेष्ट गर्न कठिन हुने, चोट लाग्ने सम्भावना हुने सहितको सामूहिक निवेदन दिँदा पनि उनले त्यसलाई सम्बोधन गर्नुको साटो उल्टो गुटबन्दी गरेको, राजनीति गरेको आरोप आफूहरु माथि लगाएको रेफ्रीहरुको गुनासो थियो। हामीले लिग चल्दै गर्दा फिटनेट टेष्ट दिन गाह्रो हुन्छ। 

‘केही तयारीको समय दिएर टेष्ट लिनुस् हामी दिन तयार छौं भन्दा उल्टो अपमान गर्ने काम भयो’, एक रेफ्रीले भने, ‘हामीले व्यवहारिकतालाई बुझ्न अनुरोध गर्दा पनि आरोप लगाउने अपमान गर्ने काम भएपछि हामी सामूहिक राजीनामा दिने निर्णयमा पुगेका हौं। फुटबल बिगार्ने मनसाय हाम्रो हुँदै होइन।’

रेफ्रीहरुको सामूहिक राजीनामा पछि लिग सञ्चालनमै बाधा पुग्ने देखेपछि एन्फा अध्यक्ष शेर्पा केहि गलेको देखिन्छ। उनले बिहीबार साँझ नै रेफ्रीहरुसँग छलफल गरी फिटनेस टेष्टको व्यावहारिकतालाई बुझ्ने र पछि सल्लाह गर्ने गरी तत्काललाई लागि विवाद समाधान गरेका थिए। त्यो सहमतिले लिगमा पूर्व निर्धारित खेलका लागि कुनै अवरोध भएन र शुक्रबार लिगको तेस्रो चरण सुरु भएको छ। 

नेपालमा ४ फिफा रेफ्री र ६ फिफा सहायक रेफ्री छन्। ३ फिफा र ६ फिफा सहायकले सामूहिक राजीनामा बुझाएका थिए। त्यसमा पछि फिफा सहायक रेफ्री माधव खत्री र विक्रम चौधरीले भने नाम फिर्ता लिएका थिए। तत्कालका लागि यो विषय समाधान भएपनि रेफ्रीले पनि अनावश्यक दबाब भएमा भविष्यमा पनि विद्रोह गर्न सक्ने संकेत गरेका छन्। 

एन्फा अध्यक्षले आफूहरुको केही कमजोरी भएको स्वीकार गर्दै लिग नरोक्न आग्रह गरेको र आइतबार वा सोमबार पुनः छलफल गर्ने गरी सहमति बनेपछि रेफ्रीहरु काममा फर्कन राजी भएका बताएका छन्। 

रेफ्रीहरुले यसअघि पछिल्लो पटक सेप्टेम्बर २३ मा फिटनेस टेष्ट दिएका थिए। रेफ्रीले लिग चल्दाचल्दै टेस्ट दिन नसकिने र गर्नैपर्ने भए लिग रोकेर तयारीको समय दिनुपर्ने माग राखेका थिए। 

यसअघिका वर्षहरुमा वर्षको एकपटक फिटनेस टेष्ट गरिदै आएकोमा यसपटक भारतीय कौरलाई रेफ्री निर्देशकमा नियुक्ती गरेपछि रेफ्री माथि दबाब बढाइएको र एन्फाले पनि त्यसमा सहज बनाउनुको सट्टा दबाब सृजना गरेपछि रेफ्रीहरु एन्फासँग असन्तुष्ट बनेका थिए।  कौर साढे तीन महिनाअघि एन्फाको रेफ्री निर्देशकको भूमिकामा नियुक्त भएका थिए। विवादित रुपमा रेफ्रिी निर्देशनमा नियुक्त भएका कौरले अनावश्यक हस्तक्षेप गर्दै आएको सुनिएको छ। 

एन्फा महासचिव तुलाधरले लिग चलिरहेका बेला फिटनेस टेष्ट दिन गाह्रो हुने रेफ्रीहरुको भनाइ रहेको बताएका छन्। ‘अध्यक्षज्यूले फिटनेस टेष्ट दिनैपर्छ भन्नु भएको हो। त्यसमा उहाँहरुको चित्त दुखाई रहेछ’, तुलाधरले भने, ‘अध्यक्षज्यू आफैंले रेफ्रीहरुसँग छलफल गरेर सहमति गर्नुभएको छ। सबै विषय सकारात्मक ढंगले टुंगिनेछ।’  

फिफा रेफ्रीहरुको सामूहिक राजीनामाको समर्थन गर्दै १५ मध्ये ८ राष्ट्रिय रेफ्री पनि उभिएपछि एन्फा पनि दबाबमा परेर सहमति गर्न बाध्य भएको देखिन्छ। फुटबल विकासमा सबै पक्षको भूमिकाको उत्तिकै महत्व हुन्छ, त्यसलाई एन्फाले भने मनन गर्नु जरुरी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .