रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबसँग बराबरी गरेको छ।
एक गोलले पछि परेको अवस्थामा मिक्चेन तामाङले गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँग हारबाट जोगिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ।
खेलको चौथो मिनेटमा प्रिजेन तामाङको प्रहारलाई गोलरक्षक प्रिसोले पञ्च गर्दै बचाउँदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो। २५औं मिनेटमा सन्जोक राईको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।
५०औं मिनेटमा सन्जोक राईको पासमा ऋतिक खड्काले वान भर्सेस वानको अवस्थामा गरेको प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले बचाए।
लगत्तै ५१औं मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए। जुडेले कप्तान प्रकाश बुढाथोकीको त्रासलाई सदुपयोग गरेका थिए। ७५औं मिनेटमा अशोक खवासको पासमा सन्जोक राईको पेनाल्टी बक्सबाहिरको प्रहार पोलमा लागेर फर्कदा थ्री स्टार बराबरीबाट चुक्यो।
८३औं मिनेटमा हेमन्त थापामगरको चलाखीपुर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए।
बराबरीपछि थ्री स्टारको ३ खेलबाट ४ अंक पुगेको छ। फ्रेन्ड्सको तीन खेलबाट २ अंक छ।
थ्री स्टारले पहिलो खेलमा च्यासललाई ३–० ले पराजित गर्दा दोस्रो खेलमा सातदोबाटोसँग १–० ले पराजित भएको थियो। फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेल्दा संकटासँग २–१ को हार बेहोरेको थियो।
Shares

प्रतिक्रिया