फरवार्ड सुनिल बलको दुई गोलमा साविक विजेता लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नयाँ सिजनको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो चरणको अन्तिम खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई २–१ ले परजित गर्दै विजयी सुरुआत गरेको हो।
एनआरटीका एरिक विष्टले गोल गरेपनि हार टार्न सकेन।
मच्छिन्द्रले खेलको १२औं मिनेटमा सुनिल बलको गोलबाट अग्रता लिएको थियो। विशाल राईको चलाखीपुर्ण पासमा सुनिलले अफसाइड बिट ट्याप गर्दै दोस्रो बार च्याप्दै गोल गर्न सफल भएको थियो।
लगत्तै १३औं मिनेटमा विशाल राईले आन्द्र थिएरी विइक विइकबाट बल खोस्दै पेनाल्टी बक्सबाहिरबाट वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा मच्छिन्द्र अग्रता दोब्बर पार्नबाट चुक्यो।
५४औं मिनेटमा एरिक विष्टले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए। स्टेफन बिनोङलाई फउल गरेपछि झन्डै ३५ यार्ड टाढाको फ्रिकिकमा एरिकले दर्शनीय गोल गर्न सफल भएका थिए। ७४औं मिनेटमा मनिष डाँगीको पेनाल्टी बक्सबाहिरको प्रहारलाई गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाउँदा मच्छिन्द्रले अग्रता लिन सकेन।
८०औं मिनेटमा सुनिल बलले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए। सुनिलले कप्तान सुजल श्रेष्ठको क्रसमा कसैको निगरानीमा नरहेका सुनिलले सहजै फिनिस गरेका थिए।
८५औं मिनेटमा वैकल्पिक फरवार्ड विमल घर्ती मगरले मैदानको मध्यभागबाट एकल प्रयासमा बल अघि बढाए पनि पेनाल्टी बक्स पुग्दासम्म नियन्त्रणमा लिन नसक्दा गोलबाट चुक्यो। जितसँगै मच्छिन्द्रले ३ अंक जोडेको छ।
Shares

प्रतिक्रिया