ad ad

अन्तर्वार्ता


घेराबन्दी गर्न खोजिएकाले हामीलाई केपी ओलीकै नेतृत्व आवश्यक छ : विष्णु रिजाल (भिडिओ–वार्ता)

घेराबन्दी गर्न खोजिएकाले हामीलाई केपी ओलीकै नेतृत्व आवश्यक छ : विष्णु रिजाल (भिडिओ–वार्ता)

सागर न्यौपाने
मंसिर ६, २०७८ सोमबार २०:३३, काठमाडौँ

नेकपा एमाले यतिबेला दशौँ राष्ट्रिय महाधिवेशनको संघारमा छ। जटिल आन्तरिक संघर्षबाट गुज्रिएर यहाँसम्म आएको एमालेले आफूलाई नेकपाकै निरन्तरता भनिरहेको छ। एमालेका संस्थापक नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहितले नयाँ यात्रा थालेको अवस्थामा एमालेले यो महाधिवेशन गर्दैछ। एउटा समूह बाहिरिएको अवस्थामा एमालेको शक्तिलाई अझै उचाइमा लैजान भन्दै केपी शर्मा ओलीलाई अर्को कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनाउने कोसिस भइरहेको छ। त्यसो त वडादेखि नै सर्वसम्मत अभ्यास गरेको एमालेले अधिकांश महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत विधिबाटै छानेको छ। एमालेलाई एक बनाउने नाममा भइरहेका यी अभ्यासले केही असन्तुष्टि पनि जन्माएको छ। विभाजनबाट भर्खरै गुज्रिएको एमालेले दशौँ महाधिवेशनलाई कसरी उपयोग गर्ला? यो महाधिवेशनले दिन खोजेको सन्देश के हो? अब अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत होलान् या निर्वाचन गर्नुपर्ला? यी र अन्य राजनीतिक विषयमा एमाले केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालसँग नेपालखबरले गरेको कुराकानी :  

नेकपा एमालेको यो महाधिवेशनबाट कस्तो नतिजा आउला?
एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मूलतः तीनवटा कुराले महत्वपूर्ण छ। पहिलो,  एमाले यो मुलुकको पहिलो राजनीतिक शक्ति हो। एमालेले लिने नीति र चयन गर्ने नेतृत्वले राष्ट्रमा प्रमुख असर गर्दछ। यस मानेमा हाम्रो पार्टीले के गर्छ भन्ने आम चासो छ।

दोस्रो, नेपाली कांग्रेस र माओवादी केन्द्रको सरकारको सहायतामा अध्यादेशका नाममा अनैतिक कानुन ल्याएर एमालेलाई विभाजन गरियो। यसविरुद्ध पार्टीपंक्ति देशभर कसरी एकतावद्ध हुन्छ? र पार्टीले आफूलाई कसरी सबल रुपमा प्रस्तुत गर्छ भन्ने आम चासो छ।

तेस्रो, मुलुक विस्तारै निर्वाचनको सँघारतिर गइरहेको छ। यसै वर्ष स्थानीय तहको निर्वाचन सुरु गर्नु पर्नेछ। अर्काे वर्ष आम निर्वाचन गर्नैपर्छ। हामीले लिने नीतिहरुले भविष्यसँग सरोकार राख्छ।

यी तीन विषयलाई केन्द्रमा राखेर हामीले मुलुकको समृद्धि र विकासको जुन हाम्रो लक्ष्य छ, त्यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुराका आधारमा महाधिवेशनलाई लिएका छौँ। यो एक पार्टीको कार्यक्रमका रुपमा होइन, एउटा राष्ट्रको अवसरका रुपमा दसौँ राष्ट्रिय महाधिवेशनलाई बदल्न चाहन्छौँ।

तपाईँले यसरी भने पनि महाधिवेशनकै बेलामा पार्टीभित्र किन एकरुपता नदेखिएको हो? 
एमाले बहुलतामा विश्वास गर्छ। समाजवादमा बहुलता छ, पार्टीभित्र पनि बहुलता छ भन्ने कुरालाई हामी स्वीकार गर्छौं। यसको अर्थ पार्टीभित्र एकमना वा एकै व्यक्तिको प्रभुत्व कायम हुन सक्दैन र हुँदैन। 

विभिन्न विचारधारा, कोण, मनस्थिति र मनोविज्ञान पार्टीभित्र छ  भन्ने कुरा हामी स्वीकार गर्छाैं। पार्टीभित्र कसैलाई दमन, थिचोमिचो, अपमान, अवहेलना गर्ने स्थिति छैन, बन्दैन र बन्नु पनि हुँदैन। अहिले एमालेलाई एकल ढंगले चलाउन खोजियो भनेर जुन प्रचार गरिँदैछ यसका पछाडि एमालेलाई थप कमजोर बनाउने, अहिलेको नेतृत्व विस्थापित गर्ने र विभाजनलाई अझै गहिरोसँग चर्काउने प्रयास भइरहेको छ।

भिडिओ

हामीले एमालेभित्र सहमतिलाई पनि निषेध गरेका छैनौं, निर्वाचनलाई पनि निषेध गरेका छैनौं। सहमतिबाट नेतृत्व चयन हुन्छ त्यो पनि स्वागत योग्य छ, वडा र पालिकाबाट त्यो अभ्यास गरिसकेका छौँ।

होइन, सहमति हुँदैन भने निर्वाचनलाई पनि कार्यान्वयन गरेका छौँ। केही वडा र पालिकामा निर्वाचनबाट पनि नेतृत्व चयन भएका छन्। अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा पालिका नेतृत्व र महाधिवेशन प्रतिनिधि दुवै निर्वाचनबाट चयन भयो।

यसैगरी उपमहासचिवद्वय विष्णु पौडेल र  घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा पालिका र प्रतिनिधि चयन सहमति र निर्वाचन दुबै विधिबाट भयो। यसले के देखाउँछ भने आफ्ना कुरा जवरजस्ती थोपर्न चाहँदैनौँ।

कसैलाई कुनै पदमा लड्ने इच्छा छ भने स्वागत छ। एमालेको प्रक्रिया छ, विधान र विधि छ। हाम्रा मापदण्ड छन्, निर्वाचन आयोगको कार्यविधि छ। आयोगले जतिबेला निर्वाचन कार्यक्रम घोषणा गर्छ, त्यतिबेला सबै नेता कार्यकर्ता उम्मेदवारी दिन/नदिन स्वतन्त्र छन्। उद्घाटन सत्र सकिएर बन्दसत्र सुरु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गरेपछि उम्मेदवारी प्रक्रिया सुरु हुन्छ।

कैलाली लगायत केही स्थानमा किन सर्वसम्मतका नाममा एकलौटी गरिएको समाचार सार्वजनिक भएका त? 
हाम्रो देशमा १ सय ६५ वटा निर्वाचन क्षेत्र छन्। नेकपा एमालेले जिल्ला समितिको अभ्यासमात्र ८४ युनिटमा गर्दैछ। प्रवासमा, जनसंगठन २२ वटामा प्रतिनिधि चयन हुन्छन्।

८ वटा प्रदेश तहका कमिटीहरूबाट प्रतिनिधि चयन हुन्छन्। तीमध्ये केही ठाउँमा भएका समस्या समाधान गर्न पार्टीले छलफल गर्दैछ तर, यसैलाई मात्र भनेर राम्रो भएका ठाउँमा पनि राम्रो भएन भनेर राष्ट्रियकरण गर्न मिल्दैन।

केही कारण आएका समस्या त्यहीँ छलफल गरेर समाधान गर्न पार्टी नेतृत्व सक्षम छ। त्यहाँ भएका समस्या त्यहीँको अन्तरविरोधका रुपमा आएको हो भने त्यहीँबाट समाधान गर्ने हो।आमरुपमा एमालेका प्रतिनिधि सर्वसम्मत चयन भएको छ।​

सर्वसम्मति नभएका ठाउँमा निर्वाचन भएको छ। मलाई कसैले बताइदेओस्, लोकतन्त्रमा निर्वाचन वा सर्वसम्मतिबाहेक अरु कुन विधिबाट प्रतिनिधि चयन हुन्छन्? 

अरुले सर्वसम्मति कायम गर्दा एकता प्रदर्शन हुने, अरुले निर्वाचन गर्दा लोकतान्त्रिक हुने? हाम्रो पार्टीमा एकता र सर्वसम्मति हुँदा अधिनायकवादी हुने? निर्वाचन गर्दा एउटा पक्षलाई पाखा लगाउन गरिएको प्रपञ्च हुने? यो भन्न मिल्दैन, अन्याय हुन्छ।

त्यही त जेठ २ कार्यान्वयनमा पनि कसैलाई लागू भयो कसैलाई भएन होइन र?
जेठ २ नेकपा एमालेको विधान होइन, विधानभन्दा माथिको विषय पनि होइन। त्योभन्दा पछाडि हामीले राष्ट्रिय विधान महाधिवेशन गरिसक्यौँ। राष्ट्रिय महाधिवेशन गर्दैछौँ। वडा, पालिका अधिवेशन गरिसकेका छौँ। 

जेठ २ एमालेलाई सुदृढ र एकतावद्ध गराउने महत्वपूर्ण अवसर हो, खुट्‌किलो हो। र, अधिकांश ठाउँमा त्यो लागू भएको छ।

एक दुई स्थानमा स्थानीय अन्तरविरोध, स्थानीय कारणले कार्यान्वयन नभएको हो भने पनि त्यसलाई मिलाएर अगाडि बढ्नुपर्छ। अन्तरविरोध हल नभएका ठाउँमा महाधिवेशनले हल गर्छ।

त्यसो भए त एमालेका सबै पदमा निर्वाचन हुने दिशातिर गएको देखियो होइन त?
हाम्रो पंक्ति के विश्वास गर्छ भने, आजको सन्दर्भमा अध्यक्षमा केपी ओलीको विकल्प छैन। हामी त्यस विषयमा छलफल गर्न पनि आवश्यक ठान्दैनौँ। आम कार्यकर्ता पंक्ति र देशको माग नै अध्यक्षमा केपी शर्मा ओली हो। 

यति भएपछि आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धाबाट बाँकी पदहरुमा निर्वाचन हुने वा अध्यक्षमा पनि कसैले उम्मेदवारी दिन्छ भने हाम्रो विधानले रोकेको छैन।

जसरी तल्लो तहबाट प्रतिनिधि चयन भएको छ, उहाँहरुको मनस्थिति हेर्दा सर्वसम्मत रुपमै नेतृत्व चयन भइदिए हुन्थ्यो भन्ने देखिन्छ।

प्रतिनिधि चयनमा हिजो तिक्तता भएका ठाउँमा पनि सर्वसम्मतिबाट आउनुभएको छ। उहाँहरुको जोड छ, सहमतिको साथ नेतृत्व चयन होस्। यदि कथंकदाचित् निर्वचन भएमा कार्यकर्ताको विवेकमा भर पर्छ, उहाँहरुले उचित निर्णय गर्नुहुनेछ।

पदाधिकारीको संख्या बढाएर भए पनि सहमति प्रयास गर्ने हो कि? 
हामीले विधान महाधिवेशन गरेको २ महिना पनि भएको छैन। हामी यति अदूरदर्शी बन्नु हुँदैन ताकि २ महिनामै हाम्रो विधान संशोधन गर्नु परोस्। मलाई लाग्छ, अहिलेको विधानभित्रबाट समाधान खोज्न सक्छौं। हामीले १५ पदको सट्टा २५ बनायौं भने पनि २६ औं व्यक्ति असन्तुष्ट हुन्छ।

त्यसकारण विधि र नेताहरुको सहमतिमा समाधान खोज्ने हो। संख्या बढाएर होइन। संख्या बढाएर हुन्थ्यो भने, ४ हजार केन्द्रीय सदस्य भएको पार्टी पनि देखिएकै हो, त्यो पार्टीको के हालत भयो पनि हामीले हेरेका छौँ। संगठनात्मक अराजकता हामीलाई स्वीकार्य हुँदैन। यसलाई पूर्णरुपमा अन्त्य गर्न चाहन्छौं।

पार्टीलाई साँच्चिकै विचारधारामा आधारित रुपमा संगठन र विधानअनुसार चल्ने जुझारु बनाउन चाहन्छौं। यसका लागि जो जसले छाती चौडा बनाउनुपर्छ, त्यो गरेर भए पनि सर्वसम्मत नेतृत्व चयन गर्न सकिन्छ। खासगरी केन्द्रीय कमिटीसमेत सर्वसम्मत हुने सम्भावना मैले अहिले पनि देखेको छु।

अध्यक्ष केपी ओलीले पटक पटक कक्षा दोहोर्‍याउने बानी छैन भन्नुभएको थियो। तर तपाईँहरुले किन बोझिलो गरी उहाँलाई कक्षा दोहो¥याउन बाध्य पार्दै हुनुहुन्छ? 
राजनीतिलाई हामीले गतिमा बुझ्नुपर्छ। मानिस र समाज जस्तै पार्टी पनि गतिशील छ। यदि हाम्रो पार्टीमाथि समस्या नआएको भए, चौतर्फी आक्रमण नभएको भए कमरेड केपी ओली यो महाधिवेशनबाट विदा भएर नयाँ नेतृत्व बनाएर जान समस्या थिएन। 

तर, आज जुन ढंगले राष्ट्रिय राजनीति र एमाले पार्टीमा समस्या देखिएको छ। सम्पूर्ण रुपमा केपी ओलीलाई घेराबन्दी गर्ने एमालेलाई एक्ल्याउने कोसिस भएको छ। यो बेला केपी शर्मा ओलीको नेतृत्व हामीलाई आवश्यक छ। त्यो अभिभावकत्व आवश्यक छ। त्यो तह र उचाइको नेतृत्व आवश्यक छ।

यो ठानेर कार्यकर्ता तहबाट उहाँकै नेतृत्व हुनुपर्ने आवाज उठेको हो। कहीँ कतै पनि केपी शर्मा ओलीले म अध्यक्ष उठ्छु, मलाई दोहोर्या‍इदेऊ भनेर कुनै नेतालाई भनेको, हारगुहार गरेको इच्छा प्रकट गरेको मैले सुनेको छैन। मैले कयौं चोटी उहाँलाई भेट्दा त्यो पाएको छैन।

तर, राष्ट्रिय परिस्थिति दुई ध्रुवमा विभाजित भए। अरु सबै शक्ति एकातिर भएर केपी शर्मा ओलीलाई एक्ल्याउने र विस्थापित गर्ने कोसिस हुँदा हामीले हाम्रो नेतालाई छोड्ने कुरै हुँदैन।

एमालेको पाँचौँ महाधिवेशनदेखि अहिलेसम्म विचार, कार्यदिशा र कार्यक्रम नयाँ भएन, पुरानैमा अल्झेको भन्ने छ, अध्यक्ष ओलीले नसकेको होइन? 
यसबारे दुई कोणबाट कुरा उठेको छ। पहिलो, परम्परागत रुपमा कम्युनिष्ट आन्दोलनलाई बुझ्दै आएका केही बौद्धिक जमातले यो कुरा उठाउनुभएको छ, यसलाई म सकारात्मक नै लिन्छु।

दोस्रो, एमालेभित्र विग्रह भएन, मारपिट र छिनाझपटी भएन भन्ने चिन्ताले एकथरी मानिस ग्रस्त छन्। उनीहरुले यो विषय उठाइरहेका छन्। ललितपुरको गोदावरीमा असोज १५–१७ सम्म भएको प्रथम विधान महाधिवेशन नवौँ महाधिवेशनले पास गरेको कार्यक्रम हो।

नीतिको र नेतृत्व चयनको गरी दुईवटा महाधिवेशन हुनेछ भन्ने निर्णय अहिले कार्यान्वयन भएको हो। बढीजसो महाधिवेशनमा सबैको ध्यान नेतृत्वमा हुन थाल्यो, नीति र विधानमा चासो, ध्यान कम हुन थालेपछि अलग अलग महाधिवेशनको अभ्यास गरेका हौँ।

कतिको फलदायी हुन्छ पछि समीक्षा गरौंला। भोलि संशोधन गर्नुपर्यो भने गरौँला। हामीले सैद्धान्तिक, वैचारिक राजनीतिक र संगठनात्मक विषयहरु सबै विधान महाधिवेशनमा छलफल गरेर सर्वसम्मत टुंगो लगाइसकेका छौं।

अध्यक्षको राजनीतिक प्रस्ताव, विधान परिमार्जन र संगठनात्मक प्रतिवेदन पारित गरेका छौँ। यसरी हाम्रो पार्टीले लिनुपर्ने राजनीतिक कार्यदिशा र कार्यक्रम स्पष्ट भइसकेको छ। कतिपय कुरा नवौँ महाधिवेशनमा पास भएका कुरालाई दसौँ महाधिवेशनमा संशोधन गरेर अगाडि बढाउँछौ। 

एमालेमा सर्वसम्मत नेतृत्व चयन भए सग्लो रहला कि नवौँमा जस्तै केही किचकिच गर्ने नेताहरु बाँकी रहलान्? 
हामी विचार विविधतामा विश्वास गर्छाैं। हामी कठमुल्लावादी, एकमनावादी पनि होइनौं। हामी बहुदलीय जनवादमा विश्वास गछौं। जबजले पहलकदमी, प्रतिस्पर्धा, श्रेष्ठता र नेतृत्वमा विश्वास गर्छ। यो कुरा समाजको हकमा मात्रै होइन, पार्टीका आन्तरिक जीवनमा पनि लागु हुन्छ। यो गर्ने हक अधिकार सबैलाई छ।

यस मानेमा कसैले विचारमा विमति राखेर, पार्टीलाई यसरी लानुपर्छ भनेर थप विचार ल्यायो भने एमाले स्वागत गर्छ। निषेध गर्दैन। तर, एमालेले संगठनात्मक अराजकतालाई अब छुट छैन। पार्टीलाई कमजोर बनाउने जुन अभ्यास हुन थालेका छन्, अब यो चल्दैन। एमाले एकतावद्ध पार्टी हुन्छ।

दसजना नेता र माओवादी छोडेर आएकाहरुलाई एकतावद्ध पार्ने विधि के हो ? 
एमाले समुद्र हो। समुद्रमा नदीहरु मिसिन्छन्, एमाले पनि त्यस्तै हो। जसरी विकास हुँदै अहिलेको अवस्थामा आइपुगेको छ, यसमै विभिन्न धाराहरुको एकीकृत रुप हो। अहिले एमाले नेकपाको निरन्तरता हो। त्यहीकारण प्रतिनिधि चयनमा विशेष रुपमा ख्याल गरेका छौँ। 

नेतृत्व निर्माणमा पनि त्यो कुरा विशेष रुपमा ख्याल हुन्छ। त्यही आधारमै हामीले सहमतिमै नेतृत्व चयन गर्न आग्रह गरिरहेका छौँ। माओवादीमा लामो समय काम गर्नुभएका नेताहरु हामीसँग हुनुहुन्छ, उहाँहरुको सम्मान र मर्यादा कायम गर्नु हाम्रो दायित्व हो। त्यसैगरी हिजो पार्टीभित्र विवाद हुँदा, विभाजनको अवस्था आउँदा एमालेकै पक्षमा मरिमेटेर लाग्नुभएका सबैका भावनालाई महाधिवेशनले सम्बोधन गर्छ। कार्यकर्ताले यो महसुस गरेका छन्। यसमा कसैलाई भेदभाव हुने काखापाखा हुने अवस्था रहँदैन। 

कसरी समेटिएलान् त? 
यसका दुईवटा विधि छन्। सर्वसम्मत रुपमा पनि नेतृत्व चयन गर्न सक्छौँ, त्यसमा नेतृत्वले विवेक पुर्‍याउनुपर्छ। यदि भएन भने हामी सामूहिक विवेकमा विश्वास गर्छाैं। निर्वाचनको माध्यमबाट नेतृत्व चयन भएछ भने पनि हाम्रा कार्यकर्ताले त्यो विवेक पुर्‍याउँछन् भन्नेमा विश्वस्त छौँ। महाधिवेशनबाट एमालेलाई सबल, एकीकृत बनाएर ल्याउन चाहन्छौं। त्यो सन्देश देशव्यापी प्रवाहित गर्न पनि चाहन्छौँ।  

महाधिवेशनमा तपाईँको दाबी के मा हुन्छ? 
नेकपा एमालेको सहयात्री हुन पाउँदा म गर्व गर्नेछु। महाधिवेशनमा व्यक्तिगत ढंगले मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको छु। केन्द्रीय सदस्यमा निर्वाचन लड्ने वा निर्वाचित हुने मेरो पहिलो अवसर हुनेछ।

म २०७५ जेठ ३ को पार्टी एकतापछिको नेकपाकालीन केन्द्रीय कमिटीमा समाहित भएको हुँ। त्यही आधारमा अहिले एमालेको केन्द्रीय सदस्य छु। विदेश विभागको उपप्रमुख छु। महाधिवेशन प्रतिनिधि सबै कमरेडसँग मेरो आग्रह र अपेक्षा के छ भने, यो बृहत् परिवारको एक सदस्यका रुपमा नेकपा एमालेको केन्द्रीय कमिटीमा काम गर्ने मैले अवसर प्राप्त गर्नेछु।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .