खेल


बार्सिलोनामा जाभीको सुखद सुरुवात

बार्सिलोनामा जाभीको सुखद सुरुवात

नेपालखबर
मंसिर ५, २०७८ आइतबार १५:४७, काठमाडौँ

प्रशिक्षकको रुपमा जाभी हर्नान्डेजले बार्सिलोनामा सुखद सुरुवात गरेका छन्। स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले छिमेकी टोली स्पान्योललाई १–० गोलले हरायो।

बार्सिलोनाको जितमा मेम्फिस डिपाए नायक बने। डिपाएले ४८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। डिबक्सभित्र डिपाएलार्ई स्पान्योलका लियान्द्रो काब्रेराले लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। जसलाई डिपाएले सही सदुपयोग गरे।

जारी सिजन खराब नतिजाबाट गुज्रिएको बार्सिलोनाले जाभीको पहिलो प्रशिक्षणसँगै जित निकालेको हो। टोलीको नजितामा सुधार गर्न नसकेको भन्दै बार्सिलोनाले तीन साताअघि प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो। पूर्व स्टार जाभीले दुई साताअघि बार्सिलोनाको मुख्य प्रशिक्षको जिम्मेवारी पाएका थिए।

बार्सिलोनाले स्पान्योललाई खेलभर दबाबमा राखेपनि जितका लागि एउटै पेनाल्टी सहारा बन्यो। ६५ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले १६ वटा पोस्ट प्रहार गरेको थियो। यता १२ वटा पोस्ट प्रहार गरेको स्पान्योलको गोल फर्काउने प्रयास पनि सफल भएन।

बार्सिलोनाका फ्रान्की डि जोङ ‘म्यान अफ दी म्याच’ भए। जितसँगै बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ। बार्सिलोनाको १३ खेलबाट २० अंक पुगेको छ। पराजित स्पान्योल १७ अंक सहित ११औं स्थानमा छ।

शीर्षस्थानमा रहेको सेभियाको २८ अंक छ। घरेलु मैदानमा शनिबार राति नै भएको खेलमा सेभिया डिर्पोटिभो अलाभेससँग २–२ गोलको बराबरीमा रोकियो। अलाभेससँग अंक बाँडेको सेभिया गोलअन्तरका आधारमा शीर्षस्थानमा रहेको हो। १४ अंक बनाएको अलाभेस १४औं नै स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि २८ अंक छ। एक खेल कम खेलेको रियल रियल म्याड्रिड २७ अंक सहित तेस्रो स्थानमा छ।

अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिडले ओसासुनालाई १–० गोलले पराजित गरेको छ। एट्लेटिकोको कठिन जितमा फिलिपे नायक बने। फिलिपेले ८७औं मिनेटमा यानिक कारास्कोको कर्नर पासमा हेड गोल गरेका थिए। जितसँगै २६ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ। पराजित ओसासुना १९ अंक सहित नवौं स्थानमा छ। अर्को खेलमा सेल्टा भिगो र भिल्लारियलले १–१ गोलको बारबरी खेल्दै अंक बाँडेको छ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो। ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ। हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad